कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण

नेपालमा कोरोना महामारीका २ वर्ष

नेपालमा कोरोना प्यान्डेमिक सुरु भएको ठ्याक्कै दुई वर्ष भएको छ। ०७६ साल माघ ९ गते अर्थात् सन् २०२० जनवरी २३ का दिन नेपालमा कोरोना संक्रमणको पहिलो केस पत्ता लागेको थियो। तत्पश्चात् नेपालमा साना–ठूला गरी जम्मा ४ वटा प्यान्डेमिक लहर आइसकेका छन् र वर्तमान लहर चौथो लहर हो। तर, समाचार र विभिन्न लेखमा ठूला लहरको मात्रै गणना गर्ने भएकाले वर्तमान लहरलाई तेस्रो लहर भन्ने गरिएको छ।

पहिलो संक्रमण पत्ता लागेपछि झन्डै तीन महिना नेपालमा छिटफुट संक्रमणबाहेक खासै नयाँ कोरोना संक्रमण त्यति देखिएको थिएन। एकैचोटि मे दोस्रो सातातिर दैनिक नयाँ संक्रमणमा तीव्र वृद्धि भई पहिलो लहर सुरु भएको थियो।

त्यतिबेला १००, २०० हुँदै ७०० भन्दा धेरै दैनिक नयाँ संक्रमण देखापरेको थियो भने दैनिक मृत्यु १ देखि ३ जति मात्रै थियो। पहिलो लहर एक–डेढ महिना निरन्तर रही त्यसपछि दैनिक संक्रमण १००–१५० मा झरेको थियो।

पहिलो लहर केही शान्त भई ३–४ हप्ता पनि बित्न नपाउँदै जुलाई अन्त्यतिर दोस्रो लहर सुरु भएको थियो। दोस्रो लहर पहिलोको दाँजोमा निकै ठूलो र लामो थियो। झन्डै ६ महिनासम्म चलेको उक्त लहरका बेला दैनिक संक्रमण करिब ५७०० सम्म पुगेको थियो भने दैनिक कोरोना मृत्यु ३०–४० सम्म। त्यसपछिका करिब २ महिना प्यान्डेमिक लहर शान्त रही दैनिक संक्रमण १५०–२०० भित्र सीमित हुन पुगेको थियो।

२०२१ अप्रिल दोस्रो सातातिर सुरु भएको प्यान्डेमिकको तेस्रो लहर अति तीव्र रूपमा फैलिई एक–डेढ हप्ताभित्रै उच्च बिन्दुमा पुगेको थियो जतिबेला दैनिक कोरोना संक्रमण ९००० नाघेको थियो जुन दोस्रो लहरभन्दा झन्डै दुई गुणा ठूलो थियो। त्यति बेला दैनिक मृत्यु पनि करिब २४० जति पुगेको थियो जुन पहिलाको भन्दा ७–८ गुणा ठूलो थियो। करिब २ महिना जातिमा केही शान्त भएको उक्त लहर केही तल–माथि हुँदै झन्डै ६ महिना लम्बियो।

त्यतिन्जेल उक्त लहरको बेला मात्रै नेपालभरि करिब ८००० ले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको थियो। त्यसपछिका करिब तीन महिना नेपालमा कोरोना प्यान्डेमिक शान्त रही कोरोना नियन्त्रणका निषेधाज्ञा सबै बन्द भई जनजीवन सामान्य भइसकेको अवस्था थियो। तर, २०२२ को जनवरी पहिलो सातातिर विश्वमै फैलिएको पछिल्लो प्यान्डेमिक लहर नेपालमा पनि भित्रियो र कोरोना संक्रमण अति तीव्र गतिमा फैलिई वर्तमान लहर सुरु भयो।

नेपालमा दैनिक संक्रमण संख्या र पोजिटिभिटी दर हालसम्मै सबैभन्दा उच्च बिन्दुमा पुगी वर्तमान लहर सबैभन्दा ठूलो बनेको छ।

नेपालमा कोरोना संक्रमण  र्‍यापिड एन्टिजेन टेस्ट र पीसीआरबाट पत्ता लागेको संख्या दैनिक १२३३० नाघिसकेको छ जुन अघिल्लो लहरको बेला २०७८ वैशाख २८ गते ९४८३ सम्म पुगेको थियो।

त्यस्तै, दैनिक पोजिटिभिटी पछिल्लो समय ५६.७८% पुगेको छ जुन अघिल्लो लहरको बेला ०७८ वैशाख २७ गते ५०.३६% सम्म पुगेको थियो। तर, त्यसको तुलनामा कोरोना मृत्यु भने हाल अति न्यून मात्रै देखिएको छ, दैनिक करिब २–४ जना।

पछिल्लो अवस्थामा वर्तमान लहरको बेला अधिकांश संक्रमण काठमाडौँ उपत्यकामा सीमित रहेको पाइएको छ जुन अघिल्लो लहरका बेला देशभर फैलिएको थियो। त्यतिबेला उपत्यकाबाहेक पूर्वदेखि पश्चिमसम्मका ठूला सहरमा प्रशस्त नयाँ संक्रमण देखिएको थियो भने हाल उपत्यकाबाहेक सहरमा संक्रमण निकै कम देखिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकामा सिंगो देशको तुलनामा ३५–४०% जति नयाँ संक्रमण देखिन्थ्यो भने हाल ६५–७०% दैनिक संक्रमण काठमाडौँ उपत्यकामा मात्रै देखिन थालेको छ। अघिल्लो र हालको प्यान्डेमिक लहरको यो भिन्नताको कारण स्पष्ट छैन।

अघिल्लो र हालको प्यान्डेमिक लहरबीच भिन्नता दैनिक कोरोना मृत्यमा पनि देखिएको छ। अघिल्लो पटक वैशाख ५ गते हालसम्मकै सबैभन्दा धेरै २४६ जनाको एकै दिन कोरोनाका कारण मृत्यु भएको थियो भने हाल दैनिक मृत्यु २–४ जना देखिएको छ।

यी सबै तथ्यले के देखाउँछ भने हालको प्यान्डेमिक लहर मूलतः ओमिक्रोन भेरिएन्टले गर्दा भएको हुनाले विश्वका अन्यत्रजस्तै नेपालमा पनि यो निकै तीव्र गतिमा फैलिरहेको छ भने त्यसको विपरीत मृत्यु भने नगन्य छ।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतार–चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपाल र दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौँ –

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बनिरहेको छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ जनवरी ५ देखि १९, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक कोरोना संक्रमण निकै तीव्र गतिमा बढेको पाइयो, यद्यपि गत साता दैनिक संक्रमण संख्या केही स्थिर देखियो। तीन साताअघि दक्षिण एसियामा दैनिक कुल ७०००–९००० नयाँ संक्रमण देखिने गरेकामा हाल यो संख्या ३००००० नाघेको छ। दैनिक मृत्यु संख्या पनि पछिल्लो समय दैनिक संक्रमणसँगै केही बढ्न खोजेको संकेत देखिन्छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक संक्रमणमा तीव्र वृद्धि हुँदै गएको देखियो भने भारत र श्रीलंकामा दैनिक संक्रमण केही स्थिर। नेपाल र बंगलादेशको दैनिक वृद्धि अन्यको दाँजोमा निकै तीव्र देखियो।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दैनिक मृत्यु दक्षिण एसियाका सबै देशमा स्थिर देखियो भने बंगलादेश र पाकिस्तानमा केही बढेको संकेत देखियो।

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक संक्रमण दरमा पनि तीव्र वृद्धि भएको देखियो। पछिल्लो समय दक्षिण एसियामा नेपालको संक्रमण दर सबैभन्दा उच्च र तीव्र रह्यो भने श्रीलंकाको सबैभन्दा कम र सुस्त। अमेरिका र जापानको संक्रमण दर पछिल्लो अवस्थामा पनि निकै उच्च रह्यो। त्यस्तै, बेलायतको संक्रमण दरमा केही सुधार आएको देखियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जनवरी १६ देखि २२ अर्थात् ०७८ साल माघ २ देखि ८ गतेसम्मको नेपालभरिको दैनिक परिक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साताको सात दिन अर्थात् माघ ८ गते शनिबारसम्म देशभरि जम्मा ५५५९२ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९०४७९६ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई साताअघि जम्मा १७४५६ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत साता ३४ रह्यो जुन दुई हप्ताअघि पनि १५ थियो। यो समेत गरी नेपालको जम्मा कोरोना मृत्यु ११६५१ पुगेको छ। गत हप्ता जम्मा ११६६१३ जनाको पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि यो संख्या ७१८९६ थियो।

गत साता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ६६.६९% देखिएको छ जुन दुई हप्ताअघि ६४.७% थियो। अर्थात् गत हप्ता देशको कुल दैनिक संक्रमणमध्ये ६६.६९% काठमाडौँ उपत्यकामा मात्रै भेटिएको थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन तीव्र गतिमा बढ्दै गएको देखिन्छ।

गत साता पोजिटिभिटी दर न्यूनतम ३६.०९% देखि अधिकतम ५६.७८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४७.२१% रह्यो जुन २ साताअघि २३.५६% थियो। नेपालको संक्रमण दर ५६.७८% हालसम्मकै सबैभन्दा उच्च हो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर वृद्धि हुने क्रम तीव्र र निरन्तर देखिएको छ।

संक्षेपमा, गत हप्ता माघ २ देखि ८ गतेसम्म नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै तीव्र बढेको पाइयो। नेपालको प्यान्डेमिक इतिहासमा दैनिक नयाँ संक्रमण र संक्रमण दर हालसम्मकै सबैभन्दा उच्च गत हप्ता देखिएको हो।

साप्ताहिक मृत्यु पनि गत हप्ता बढेको पाइयो। सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण पछिल्लो समय पनि उच्च नै रह्यो। देशभरिको दैनिक कोरोना संक्रमणमध्ये ६६% भन्दा धेरै काठमाडौँ उपत्यकाका मात्रै भेटिने गरेको छ।

त्यस्तै, गत हप्ता दक्षिण एसियामा समग्र रूपमा दैनिक संक्रमण निकै बढेको पाइयो र दैनिक मृत्यु पनि केही बढेको देखियो। युरोप र अमेरिकामा पनि नयाँ प्यान्डेमिक लहर र ओमिक्रोन भेरिएन्ट निकै आक्रामक ढंगले बढ्ने क्रम निरन्तर देखियो।

प्यान्डेमिक कालमा कोरोना संक्रमण कहाँ, कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्