पछिल्लो ६ महिनामा ३६२७ मुद्दा दर्ता, १९ करोडभन्दा बढी राजस्व संकलन

मोरङ – विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले गत ६ महिनामा १९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ६ महिनामा असुल–उपर गरेको जरिवाना, भन्सार चोरी निकासी नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन कारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक कारबाहीका क्रममा १९ करोड ८ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको हो।

प्रहरी कार्यालयका अनुसार तीन वर्षको पहिलो ६ महिनाको राजस्व संकलनमा यो उच्च हो। यसअघि, ०७७।७८ मा १८ करोड ९२ लाख ८८ हजार, र ०७६।७७ मा १८ करोड ६२ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
यसपटक ट्राफिक कार्यसम्बन्धी कारबाहीमा सर्वाधिक राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार अन्य वर्षको तुलनामा यसपटक ट्राफिक व्यवस्थापनतर्फ प्रहरीले ८ करोड ५९ लाख ६४ हजार ५ सय रुपैयाँ संकलन गरेको छ। यस क्रममा प्रदेशका १४ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५ सय ७६ वटा सवारी साधन कारबाहीमा परेका छन्।

त्यसैगरी, भन्सार चोरी निकासी नियन्त्रणमा प्रहरीले ५ करोड ५८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस क्रममा ४७ जना पक्राउसमेत परेको प्रवक्ता राईले जानकारी दिए।

प्रहरीले असुल उपर गरेको जरिवानामा ४ करोड २५ लाख ९० हजार राजस्व संकलन गरेको छ। यस क्रममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ गरेको र असुलउपर गरेको कैद वर्ष ६ सय ३२ जनाको रहेको छ।

अवैध काठ चोरी निकासी नियन्त्रणतर्फ ४४ लाख ४ हजार रुपैयाँ संकलन भएको छ। यसतर्फ प्रहरीले ४२ जनालाई १ हजार ९ सय ५२ क्युफिट अवैध काठसहित पक्राउ गरेको छ।

नदीजन्य पदार्थको अवैध दोहनमा पनि प्रहरीले २० लाख १९ हजार रुपैयाँ संकलन गरेको जनाएको छ। यस कार्यमा ३२ जना पक्राउ परेको जनाउँदै प्रहरी कार्यालयले ५ सय १५ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ।

यस ६ महिनाको अवधिमा अपराधका ३ हजार ६ सय २७ वटा मुद्दा दर्ता भएका छन्। जसमा १ हजार ३ सय ९६ वटा मुद्दा फस्र्याेट भएको र बाँकी यथावत् छ।

यसैगरी, प्रहरीले लागुऔषध नियन्त्रणतर्फ गाँजा ३ सय ८२ किलो ८ सय ९९ ग्राम, चरेस १४ ग्राम ५ सय मिलिग्राम, ब्राउन सुगर १ किलो ४ सय २५ मिलिग्राम, विभिन्न मनोद्वीपक क्याप्सुल १० हजार ६८, मनोद्वीपक एम्पुल ३ हजार ८ सय ७५ र मनोद्वीपक औषधि ४ सय ७५ क्याप्सुल बरामद गरेको र १ हजार ६ सय ६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाख ५१ हजार ७ सय ७८ बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ।

माघ ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्