अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारी परिवारसहितलाई देश छोड्न आदेश किन दियो?

अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ ।

रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई स्वदेश फर्किन छुट दिएको छ । यस्तै युक्रेनमा रहेका अमेरिकीहरुलाई फिर्तीबारे विचार गर्न भनेको छ ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा रुसले युक्रेनमाथि ठूलो सैन्य आक्रमणको तयारी गरेको खबर आएको उल्लेख छ ।

रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी नगरेको बताउँदै आएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तनाव बढ्दै गएको परिवेशमा तत्कालका लागि रुसको भ्रमण नगर्न पनि भनेको छ । रुसले अमेरिकी नागरिकमाथि हानी गर्न सक्ने चेतावनी विदेश मन्त्रालयको वक्तव्यमा छ ।

युक्रेनसहितका क्षेत्रको सुरक्षा अवस्था पूर्वानुमान गर्न नसकिने अवस्थामा रहेको र अप्रत्यासित रुपमा खराब हुन सक्ने उल्लेख गरिएको छ ।

अमेरिकासहितका देश रहेको सैन्य सुरक्षा गठबन्धन नेटोले युक्रेनसँगको सीमा क्षेत्रमा रुसले करिब एक लाख सैनिक तैनाथ गरेसँगै युरोपमा द्वन्द्वको सम्भावना रहेको चेतावनी दिएको छ ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्