साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल

साउदी अरेबिया

काठमाडौँ – सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ ।

कोठामा गम्भीर अवस्थामा छट्पटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उद्धारमा जुटेका हुन् ।

राना पीडाले छट्पटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज रियादस्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो । टोलीले उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ । दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसकेका छन् । अन्य ६ जना मङ्गलबार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उजुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ ।

राना बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आज नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो । उपचारपश्चात् रानाको स्वास्थ्यावस्था सामान्य रहेको छ ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्