तालिबान सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच युरोपमा वार्ता हुँदै

अफगानिस्तानको तालिबानका सदस्यहरुले पश्चिमा राष्ट्रका अधिकारीसँग भेटवार्ता गर्दै छन् । अफगानिस्तानको सत्तामा तालिबान आएयता पहिलोपटक युरोपमा वार्ता हुन लागेको हो ।

नर्वेमा तालिबान सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच छलफल हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनसम्म हुने भनिएको वार्तामा अफगानिस्तानमा मानव अधिकार तथा मावनीय संकटका सम्बन्धमा छलफल हुनेछ ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानका ९५ प्रतिशत नागरिकले पर्याप्त मात्रामा खान पाएका छैनन् । बैठकको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन समेत भएका छन् ।

आलोचकहरुले बैठकको बहानामा मानव अधिकारको उल्लंघन गर्ने तालिबानलाई ‘पुरस्कृत’ गर्न खोजिएको आरोप लगाएका छन्। आइतबार तालिबान सदस्यहरुले मानव अधिकार अभियन्ताहरुसँग भेट गरेका थिए, सो भेटमा भएको कुराकानीबारे जानकारी दिइएको छैन ।

तर भेटमा ‘आशावादी’ छलफल भएको अधिकारकर्मी जमिला अफगानीले समाचार संस्था एएफपीसँग बताएकी छन् । सोमबार तालिबान सदस्य र पश्चिमा अधिकारीबीच वार्ता सुरु हुनेछ ।

तालिबानले अमेरिकी बैंकमा फ्रिज भएको अर्बौँ डलरमा आफूहरुको पहुँच दिन आग्रह गर्ने जनाइएको छ । अफगानिस्तानमा तालिबान सत्ता आएसँगै बेरोजगारी तथा मूल्यवृद्धि उच्च बनेको छ ।

अफगान मुद्राको मूल्यमा भारी गिरावट आएको छ भने बैंकहरुले निकाल्न मिल्ने रकमको सीमा तोकेका छन् । संयुक्त राष्ट्रसंघले ५५ प्रतिशत फगानहरु भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्