पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम बने ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौँ– पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन्।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए।

गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए। उनले २२८ रन बनाएका थिए।

यस्तै इङ्ल्यान्डविरुद्धको शृंखला ३-० ले गुमाउँदा पनि आजमले १७७ रन बनाएका थिए। यसअघि आजमकै ओपनर जोडी मोहम्मद रिजवान आईसीसी ‘टी-२० क्रिकेटर अफ दि इयर’ घोषित भएका थिए।

यस्तै आईसीसी टी-२० विश्वकपको फाइनलमा ‘अम्पायरिङ’ गरेका माराइस एरास्मस आइसीसी ‘अम्पायर अफ दि इयर’ घोषित भएका छन्। उनी यसअघि सन् २०१६ र २०१७ वर्षको उत्कृष्ट अम्पायर बनेका थिए।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्