दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो मौरिससको फुटबल टोली

काठमाडौँ– नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिससको फुटबल टोली काठमाडौँ आइपुगेको छ।

पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो। हाल फिफा वरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ। यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडी बिना नै मोरिसस नेपाल आएको हो।

पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए।

नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा लिएको छ। घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताए।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ। नेपाल आइपुगेको टोलीको कोरोना परिक्षणपश्चात मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ। कोभिड मापदण्ड अन्तर्गत मोरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाडौँ आइपुगेको हो।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्