बढ्यो संक्रमण, छैन सतर्कता

दाङ – कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापरबाही देखिएको छ। स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने विषयलाई अनिवार्य गरे पनि नागरिक स्तरबाट भने बेवास्ता भइरहेको बताएका छन्।

विशेषगरी भीडभाड अत्यधिक भएका बजार क्षेत्रमा नागरिकले मास्क लगाउने गरेका छैनन्।

जान्ने बुुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिने स्वास्थ्यकर्मीहरू बताउँछन्।

यसैक्रममा कोरोना जोखिम न्यूनीकरणका लागि दाङमा प्रहरीले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भीडभाड गर्नेहरूलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

जिल्लाभरि नै बजार क्षेत्रमा प्रहरी परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुरामा सचेत पार्दै आएको उनको भनाइ छ।

प्रहरी टोलीले घोराहीका विभिन्न क्षेत्र तुलसीपुर चोक, सहिद गेटलगायत स्थानमा तपाईंको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ। मास्क नलगाएर हिँडेका दर्जनौं नागरिकलाई कोरोना जोखिमबारे बुझाउँदै अटेरी नगर्न र स्वास्थ्यको विशेष ख्याल गर्न सुझाव दिइने गरिएको छ।

 

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्