मेरो दाबेदारी महासचिवमा : बर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताएका छन्।

चीनमा उपचार गरी सोमबार साँझ काठमाडौँ ओर्लिएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए।

आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए।

नेता पुनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’

नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताए।

नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

झण्डै ४ महिना लामो उपचार सकेर नेता पुन: सोमबार साँझ नेपाल फर्किएका हुन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए। बैंककपछि उनलाई थप उपचारको लागी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्