इन्सेकले थाल्यो बलात्कार घटनाको विषयमा अनुगमन

मोरङ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ ले मोरङको सुन्दरहरैंचा नगरपालिकामा भएको बलात्कार घटनाको विषयमा अनुगमन गरेको छ।

गत शुक्रबार सुन्दरहरैंचा–४ स्थित बेलियाको एक होटलमा सामूहिक बलात्कारकी सिकार भएकी ३१ वर्षीया महिला र परिवारसँग इन्सेकको टोलीले घटनाबारे जानकारी लिएको छ।

सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाबारे अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिएका हुन्।

यसक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको जानकारी दिए।
घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताए। उनलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको उनले बताए।

पीडितकी बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने माग गरेका थिए।
अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटर पीडितले न्याय पाउनुपर्ने विषयमा ध्यानाकर्षण गराएको थियो।

प्रमुख जिल्ला अधिकारी दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताएका थिए। सामूहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ। यद्यपि, घटनामा संलग्न थप एकजना अझै फरार अवस्थामा रहेका थिए।

घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिले अनुगमन गरेका थिए ।

 

 

 

माघ १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्