ट्याटु आर्टिस्ट सुमिना भन्छिन्ः परिवारको सहयोग बिना महिलालाई यो क्षेत्रमा गाह्रो छ

ट्याटु आर्टिस्ट सुमिना श्रेष्ठ।

काठमाडौँ– पहिलो पटक दिदीको शरीरमा ट्याटु खोपेको अस्तिजस्तो लाग्छ सुमिना श्रेष्ठलाई। तर पाँच वर्ष बितिसक्यो उनले ट्याटु खोप्न थालेको।

सुमिनाको सानैदेखि कलामा रुचि थियो। तर भविष्यमा के गर्ने भन्नेबारे धेरै चिन्तित भएर सोचेकी थिइनन्। आफूमा भएको प्रतिभा चिन्न नसक्दा उनले निकै भौँतारिनु पर्‍यो। के काम गर्ने भनेर लिस्ट नै बनाइन्। जे काम गर्दा पनि सन्तुष्टि मिल्दैनथ्यो।

२०७२ सालको भुकम्पपछि अब केही गर्नुपर्छ भन्ने सोचाइ आयो सुमिनालाई। त्यतिबेला एउटा प्रोजेक्टमा सहभागी हुने क्रममा उनले ट्याटु बनाउने धेरै साथीहरु भेटिन्। साथीहरुले उनको प्रतिभालाई थप प्रोत्साहन गरे, जसका कारण उनी घरमै अभ्यास गर्न थालिन्।

जब ट्याटु बनाउन लागिन्, त्यसपछि भने उनलाई समय बितेको पत्तै भएन। उनी भन्छिन्, ‘काम चाहिँ गर्ने तर के काम गर्ने भनेर मैले अप्सनहरु राखेको थिएँ। अरु काम गर्दा बोर लाग्यो, तर यो काम गर्दा अलिकति पनि अल्छी लागेन। जति गर्‍यो उति गरुम् गरुम् लाग्ने।’

ट्याटु बनाउन सिक्दाका सुरुवाती दिनमा सुमिना ‘रबर स्कीम’मा अभ्यास गर्थिन्। पछि विस्तारै आत्मविश्वास बढेपछि नातेदारका शरीरमा बनाउन सुरु गरिन्।

सबैबाट राम्रो प्रतिक्रिया आएपछि उनले ठमेलका केही स्टुडियोमा केही समय कामको अनुभव लिइन्। त्यसपछि भने अब आफै गर्छु भनेर एउटा स्टुडियो सुरु गरेकी छन्, ‘वनडरथ्रस्ट ट्याटु।’

पश्चिमा मुलुकमा धेरै पहिलादेखि नै व्यावसायिक रूप लिए पनि नेपालमा धेरै पछि मात्र ट्याटु भित्रिएको उनी बताउँछिन्।

सानैदेखि उनको लगाब पेन्टिङ/ड्रइङमा भएकाले परिवारले पनि सधैँ सहयोग गर्‍यो उनलाई। उनी भन्छिन्, ‘मेरो ड्याड मम एकदमै सपोर्टिभ हुनुहुन्छ। त्यही भएर सायद मैले अहिलेसम्म पनि निरन्तरता दिन सकेकी छु।’

परिवारको सहयोग नपाए महिलालाई यो क्षेत्रमा काम गर्न र त्यसलाई निरन्तरता दिन गाह्रो हुने सुमिनाको भनाइ छ। ‘नेपालमा पुरुष ट्याटु आर्टिस्ट धेरै भएपनि महिला ट्याटु आर्टिस्ट भने कमै छन्,’ सुमिना भन्छिन्, ‘कसैलाई परिवारको सपोर्ट मिल्दैन त कसैले विवाह गरेपछि यो प्रोफेसन सुरु गर्दैनन्, त्यसरी नै हो यो प्रोफेसन स्टप हुने।’

सुमिनासँग ट्याटु खोप्न चाहने अधिकांश व्यक्तिहरु समाजिक सञ्जालबाट जोडिन्छन्। उनी अनलाइनबाटै कुरा गरेर समय दिन्छिन् र कस्तो डिजाइनको ट्याटु बनाउने हो, त्यो पहिल्यै निश्चित गर्छिन्।

ट्याटु बनाउन आउनेहरुले पहिला आफ्नो खुबीमा शंका गरेपनि बनाइसकेर फर्केपछि भने कामको तारिफ गर्ने सुमिना बताउँछिन्। पछिल्लो समय मानिसहरुमा ट्याटुप्रतिको मोह र दृष्टिकोणमा पनि निकै परिवर्तन आएको सुमिनाको अनुभव छ।

उनी भन्छिन्, ‘पहिला ट्याटु गर्ने मान्छेहरुलाई ट्यापे भनेर धब्बा लगाइन्थ्यो। तर अहिले आएर चाहिँ ट्याटुलाई एज अ आर्ट हेर्छ मान्छेले।’

ट्याटुलाई लिएर भएको यो परिवर्तन देख्दा भने खुशी लाग्छ सुमिनालाई। केही समय पहिलेसम्म युवाहरुमा मात्र ट्याटु मोह थियो। अहिले आएर युवादेखि पाका उमेरका सबैले ट्याटु बनाएको देख्दा उनलाई काम गर्न थप उत्साह मिलेको छ।

उनको स्टुडियोमा ट्याटु खोप्नका लागि नेपालीदेखि विदेशीसम्म पनि आइपुग्छन्। सुमिनाका अनुसार नेपालमा एकदमै राम्रो–राम्रो ट्याटु आर्टिस्टहरु छन्। त्यसैले कतिपय विदेशीहरु ट्याटु बनाउनकै लागि भएपनि नेपाल आउने उनको भनाइ छ।

हरेक व्यक्तिको ट्याटु बनाउँदा नयाँ सेटअप गर्नुपर्ने सुमिना बताउँछिन्। उनले भनिन्, ‘इक्विप्मेन्टहरुदेखि लिएर हामीले प्रयोग गर्ने टुल्सहरु सबै हाइजेनिक हुनुपर्छ। हाम्रो इनक्यापदेखि लिएर हाम्रो ग्लब्सहरु, हाम्रो हातले छुने ठाउँहरु सबै र्‍याप गर्नुपर्ने हुन्छ। एकजना मान्छेलाई त्यो सामान प्रयोग गरिसकेपछि त्यो फाल्नै पर्ने हुन्छ।’

उनका अनुसार सानो आकारको सामान्य ट्याटु खोप्न थोरै समय लाग्छ। ठूलो आकार र डिजाइनको खोप्ने हो भने धेरै समय लाग्छ।

पछिल्लो समय खोपिसकेको ट्याटु कसरी हटाउन सकिन्छ भनेर पनि आफूलाई म्यासेज आउने सुमिनाको भनाइ छ। उनी भन्छिन्, ‘म यहाँ ट्याटु रिमुभ चाहिँ गर्दिनँ, बनाउँछु मात्र। रिमुभ गर्नु पर्‍यो भने चाहिँ ठाउँठाउँमा क्लिनिकहरु छ, बुझेर जान सकिन्छ।’

उनले कभरअप मात्र गर्छिन्। उनी भन्छिन्,‘जस्तो सानो–सानो कसैको बिग्रिरहेको हुन्छ, कसैले रिग्रेट गरिरहेको हुन्छ। त्यसको माथिबाट अर्को ट्याटु बनाएर कभरअप गर्न चाहिँ पोसिबल छ।’

ट्याटु बनाएर मात्रै हुँदैन। बनाइसकेपछि केयर गर्न पनि एकदमै आवश्यक रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘ट्याटु हान्नु भनेको हाम्रो शरीरमा एक किसिमको घाउ नै बनाउने हो। त्यसैले यसलाई घाउजसरी नै केयर गर्नुपर्ने हुन्छ। तर कस्तो खालको केयर गर्ने भनेर आर्टिस्ट अनुसार नै फरक हुने गर्छ।’

उनका अनुसार सकेसम्म ट्याटुलाई पाक्न दिनु हुँदैन। घाउ पाकेमा ट्याटु बिग्रिन्छ। त्यसैले केही समयसम्म ट्याटुलाई घाममा एक्सपोज गर्न नहुने, तातो पानीले पखाल्न नहुने उनी बताउँछिन्।

ट्याटु गर्नेभन्दा पनि ट्याटुलाई केयर गर्न गाह्रो हुने उनको भनाइ छ। कुनै केमिकलहरु शरीरसँग म्याच भएन भने खटिराहरु आउन सक्ने संभावना हुने हुँदा ट्याटु हान्दा सकेसम्म बुझेर राम्रो स्टुडियोमा जानुपर्ने सुमिनाको सुझाव छ।

ट्याटु खोप्नु कस्मेटिक सर्जरीजस्तै भएको बताउँछिन् सुमिना। कुनै सर्जरीपछि हरेक व्यक्तिले डाक्टरको सल्लाह मानेजस्तै ट्याटु खोप्नेले पनि ट्याटु आर्टिस्टले भनेअनुसार ध्यान दिनुपर्ने उनको भनाइ छ।

घाउको हेरविचार गरिएन भने छालामा समस्या देखिन सक्छ। सस्ता उपकरण प्रयोग गरेर छिटो ट्याटु बनाउनुभन्दा राम्रो आर्टिस्टसँग बनाउँदा स्वास्थ्यमा असर गर्दैन। सुमिनाका अनुसार कलर ट्याटु गर्‍यो भने केही समयपछि हल्का खुइलिन पनि सक्छ।

भिडियो हेर्नुहोस्:

उनी भन्छिन्, ‘कसैको शरीरमा पछिसम्म पनि केही हुन्न। कसैको खुइलिन पनि सक्छ। यस्तो कलर ट्याटुमा हुन्छ। केही समयपछि रिटच गर्न भने मिल्छ। तर ब्ल्याक एण्ड ग्रे ट्याटुहरु जस्ताको तस्तै रहन्छ पछिसम्म पनि।’

पछिल्लो समय युवाहरु ट्याटुबारे आफै रिसर्च गरेर आउने गरेको सुमिनाको अनुभव छ। ‘पहिला मानिसहरु कस्तो ट्याटु हान्नेभन्दा पनि आफ्नो शरीरमा ट्याटु मात्र भएपनि हान्न पाए हुन्थ्यो भन्ने सोच्थे। तर अहिलेको जेनेरेशनमा त्यो फरक भएको छ। उनीहरु कस्तो ट्याटु हान्ने आफै रिसर्च गरेर आउँछन्,’ सुमिनाले सुनाइन्।

सुमिनाको स्टुडियोमा ट्याटु खोप्न चाहनेहरु १८ वर्षभन्दा माथिका हुनुपर्छ। सुगरका बिरामी, गर्भवती महिला या शारीरिक रुपमा कमजोर मानिसले डाक्टरको सल्लाह बिना ट्याटु खोपाउनु नहुने उनी बताउँछिन्।

उनी भन्छिन्,‘कसैको छालासम्बन्धी रोग छ भने त्यो आफूले डाक्टरसँग बुझेर मात्र आउनुपर्छ। किनभने हरेक आर्टिस्टहरुलाई त थाहा हुँदैन नि त तपाईंलाई के रोग छ भनेर। तपाईं त आफ्नो रिस्कमा आउने हो नि।’

सुमिनाका अनुसार ट्याटु सिक्नलाई धेरै तरिका छ। आफ्नै घरमा अभ्यास गरेर पनि सिक्न सकिन्छ, आफूमा आत्मविश्वास छ भने। उनी भन्छिन्, ‘आजभोलि त युट्युबमा पनि कति धेरै कन्टेन्टहरु छ। तर अलिकति जानेकोसँगै गएर ट्याटु गर्‍यो भने रिस्क कम हुन्छ।’

सरकारले भने यस क्षेत्रलाई खासै चासो नदिएको उनको गुनासो छ। उनी भन्छिन्,‘यसलाई अहिलेसम्म एउटा प्रोफेसनमा गनिएकै छैन नेपालमा।’

ट्याटु कसरी सिक्ने? भनेर उनलाई धैरै म्यासेज आउँछन्। तर नेपालमा भने केही स्टुडियोले आफ्नै पहलमा सिकाउने भए पनि सरकारको स्वीकृति भएको सिक्ने ठाउँ नभएको उनी बताउँछिन्।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्