स्वास्थ्य सेवा कार्यालयको भण्डार कक्षमा एक लाख ट्याब्लेट सिटामोल मौज्दात

हुम्लामा किन भएन सिटामोलको अभाव?

हुम्लामा भण्डार कक्षमा रहेको सिटामोलको मौज्दात

सिमकोट– राजधानी काठमाडौंमै सिटामोलको चरम अभाव छ। तर हिमाली जिल्ला हुम्लामा भने सिटामोलको मौज्दात राम्रो छ। समयमै स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाहरुले सिटामोल खरिद गरेको कारण जिल्लाभरि नै मौज्दात राम्रो देखिएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले हाल कार्यालयको भण्डार कक्षमा एक लाख ट्याब्लेट सिटामोल मौज्दात रहेको जानकारी दिए। उनले कोरोना सङ्क्रमणका लागि प्रयोग हुनेदेखि सबै खाले सिटामोलको स्टक राम्रो भएको कारण कुनै समस्या नहुने बताए।

कोरोना संक्रमित बिरामीको लागि पनि ज्वरो कम गर्न सिटामोलको प्रयोग गरिएकाले कमी हुन नदिने कार्यालयले जनाएको छ। कार्यालयले जिल्लाका सात वटै गाउँपालिकाले माग गरेको संख्यामै सिटामोल बितरण समेत गरेको जनाएको छ। कार्यालयले सिटामोलको मौज्दात राम्रो भएको कारण गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा आवश्यकताका आधारमा वितरण गर्न सकिने जनाएको छ।

यता उत्तरी नाम्खा गाउँपालिकाको स्वास्थ्य संयोजक ग्याछो लामाले शाखामा छ हजार र गाउँपालिकाका अन्य वडाका दश वटा स्वास्थ्य संस्थामा तीन महिनाका लागि पुग्ने सिटामोल रहेको जानकारी दिए। त्यसैगरि चंखेली गाउँपालिकाले बाह्र हजार, ताँजाकोट गाउँपालिकाले दश हजार, अदानचुली गाउँपालिकाले दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेको जनाएका छन्। यद्यपि अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंश महताराले कोरोना सङ्क्रमणका बिरामीका लागि आबश्यक पर्ने प्यारा सिटामोलको भने कमी रहेको जनाए।

उनले बीस हजार ट्याब्लेट सिटामोल खरिद गर्ने तयारी भएपनि बजारमै अभाव भएको सुनाए। यता मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बीस हजार ट्याब्लेट सिटामोल शाखाको मौज्दात रहेको र छ वटा स्वास्थ्य चौकी सहित अन्य स्वास्थ्य संस्थाहरुमा एक हजार पाँच सय ट्याब्लेट रहेको जनाए। उक्त गाउँपालिकाभरि सिटामोलको कुनै समस्या नरहेको र अझै बीस हजार ट्याब्लेट सिटामोल खरिदको प्रकृयामा  रहेको  धामीले बताए ।

त्यसैगरि सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले शाखामा सात हजार र आठ वडै वडाका स्वास्थ्य संस्थामा एक हजारदेखि दुई हजार ट्याब्लेट सिटामोल मौज्दात रहेकोले कुनै वितरणमा समस्या नपर्ने उल्लेख गरे। त्यसैगरि खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले १५ हजार भन्दा बढी ट्याब्लेट स्वास्थ्य शाखाको मौज्दात रहेको र अन्य वडाको स्वास्थ्य संस्थामा पनि उपलब्ध गराईएको बताए। उक्त गाउँपालिकाले पनि केही समय अगाडी औषधी खरिद गरेको जनाएको छ।

माघ ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्