पुटिनमाथि नै प्रतिबन्ध लगाउन सकिने छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य आक्रमण गरेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नै व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेमा त्यसको प्रभाव विश्वव्यापी रुपमा नै भयावह हुने बाइडेनले बताएका हुन् । रुसले युक्रेनसँग जोडिएको आफ्नो दक्षिण पश्चिमी सीमा क्षेत्रमा सेना तैनाथ गरेको छ ।

करिब एक लाख सैनिक सीमा क्षेत्रमा तैनाथ गरेको रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा देशको आरोप छ । तर रुसले भने युक्रेनमा सैन्य आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

अमेरिका तथा युरोपेली देशका नेताहरुले रुसमाथि युक्रेनमा सैन्य आक्रमण नगर्न चेतावनी दिइरहेका बेला बाइडेनले पुटिनमाथि व्यक्तिगत तहमै प्रतिबन्ध लगाउन सकिने बताएका हुन् ।

रुसले भने अमेरिकासहितका देशहरुले तनावलाई लम्ब्याएको आरोप लगाएको छ।

यसैबीच युक्रेनलाई लिएर तनाव बढिरहेका बेला अमेरिकाले छोटो सूचनामै तैनाथ गर्नका लागि केही हजार सैनिक तयारी अवस्थामा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको हो ।

डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससहितका नेटो सदस्य राष्ट्रहरुले युरोपेली क्षेत्रको सुरक्षा अवस्थामा रुसी जोखिम बढेको भन्दै सुरक्षा मजबुद बनाउन युद्ध विमान तथा वारसिप पूर्वी युरोपमा पठाउनेबारे विचार गरिरहेका छन्।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्