निफको पाँचौँ सँस्करण चैतमा, ३८ देशका ८९ चलचित्र छनौट

काठमाडौँ– ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौँ सँस्करण आगामी चैतमा हुने भएको छ। नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ चैत १० गतेदेखि १४ गतेसम्म काठमाडौँमा यो महोत्सव हुँदैछ।

महोत्सवमा ५५ देशमा ४ सय भन्दा धेरै चलचित्र प्राप्त भएकोमा ३८ देशका ८९ चलचित्र छनौट भएको आयोजकले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर चलचित्र, एनिमेटेड चलचित्र, वृत्तचित्र, ‘सर्ट फिल्म’ रहेका थिए।

यस्तै राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर चलचित्र, वृत्तचित्र र ‘सर्ट फिल्म’ विधाहरु राखिएका थिए। यो वर्ष नेपाली प्रतिस्पर्धामा विजयी चलचित्रले ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ सहित ५० हजार नगद रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन्। यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विजयी चलचित्रलाई १५ सय अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड प्रदर्शन गरिनेछ।

यस्तै सर्वाेत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, एनिमेटेड चलचित्रलाई ५ सय डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशीको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्