भिजा प्रक्रिया पूरा गर्न भारत गएका युवा सात दिनदेखि बेपत्ता

इलाम – इलामका एक युवा सात दिनदेखि बेपत्ता भएका छन्। इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ।

विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनको विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारी थियो। त्यसैको सिलशिलामा बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए।

क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए। विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै यही माघ ५ गते भारत उनी त्यहाँबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

भारतको गुलाफ होटलमा बसेकोसम्म जानकारी परिवारलाई छ। त्यहाँबाट अगाडि कहाँ गए भन्ने बारे थाहा नभएको उनका भाई पुकार बस्नेतले जानकारी दिए। पुकारका अनुसार बस्नका लागि होटल बुक गरेर बस्नेतलाई होटलमै छाडेरसँगै गएका पोखराका आशिष रानाभाटसहितको टिम फर्किएर आउँदा बस्नेत होटलमा नरहेको बताइएको छ ।

उनीसँगै रानाभाटसहित मोरङका मनप्रसाद योङहाङ, मनबहादुर योङहाङ र कल्याण राईसमेत रहेका थिए।

बस्नेत परिवारले घटनाका बारेमा थप बुझीदिन र सम्पर्कविहीन व्यक्तिको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको छ । बस्नेत होटलबाट एक्लै घुम्न जाँदा पुनः होटल नचिनेर सम्पर्कविहीन भएको वा अन्य केही भएको भन्नेबारे अन्योल छ । बस्नेत परिवारले म्यानपावरसँग समेत खोजी गरिदिन आग्रह गरेको छ ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्