जिब्रो, परम्परा र बजारले दास बनाएको खाद्य व्यवस्था

खाने कुराको छनोटमा मानिसको जिब्रोले निर्णायक भूमिका खेल्ने गरेको छ। जिब्रोले मीठो मानेको र परम्पराले धानेकाबाहेक अन्य खाने कुरामा मानिसको हत्तपत्त ध्यान जाने गर्दैन। यसरी ‘स्वादिलो’ मानेर खाइएका खाद्यवस्तु पेटमा पुग्दा नपुग्दै उत्पन्न हुने पौष्टिक लाभ र हानिबारे आममानिसको चासो देखिँदैन।

चासो रहनै पर्ने यस तथ्यलाई विद्यमान खाद्य सुरक्षा व्यवस्थाले निर्देशन गर्न पनि सकिरहेको छैन। अर्थात् खानेकुराको छनोट ठीक वा बेठीक के छ भनेर हेर्ने, विवेक प्रयोग गर्ने गरिएको छैन र त्यसमा मानवीय चेतनाको सकारात्मक निर्णायक क्षमता बन्धक भएको छ। बजारले पनि खानेकुराको छनोटमा जबर्जस्ती प्रभाव पार्दै आएको छ।

चेतना र स्वतन्त्रताको पक्षधर मानिएको मानिस वास्तविकता र विवेकलाई बन्धक राखेर कसरी जिब्रो, परम्परा र बजारले छानेका खाद्य वस्तुको उपभोगमार्फत स्वास्थ्यमाथि खेलबाड गर्न सकिरहेको होला! सोच्ने बेला आएको छ। मानिसले आफ्नो जीवन र स्वास्थ्यका निम्ति आफ्नै विवेकको निर्णय लागू गर्न नसक्दासम्म उसको दासत्व अन्त्य हुने छैन। जे खाएको छ त्यसैबाट रोग बेसाएर अस्पताल जाने, आम्दानी रित्याउने वा पीडा पिएर मृत्यु पर्खनेबाहेक मानिससँग विकल्प रहने छैन।

बहुआयामिक उपचार पद्धतिले सहजता आएको देखिएको छ; त्यो राम्रो कुरा हो तर महँगो उपचारका कारण ठूलो जनसंख्याका लागि स्वास्थ्य र खाद्य प्रणाली पहुँच बाहिरै रहेकामा भने संवेदनशील हुनै पर्छ।

मानिसले पानी पिउनुभन्दा कोक पिउनुलाई सभ्यता ठानेको छ। घरमा पाकेको परिकारभन्दा जंक फुडलाई उत्कृष्ट ठानेको छ। कोकजस्ता पेय पदार्थ मूलतः पानीकै परिवर्तित स्वरूप हुन् जसमा अखाद्य वस्तुको मिश्रण हुन्छ। यो पनि हो कि पानीको व्यापारबाट जति ‘नाफा’ पाइन्छ त्योभन्दा कैयौं गुणा धेरै कोकजस्ता पेय पदार्थबाट आर्जन गर्न सकिन्छ। त्यसैले खाद्य प्रणालीको उत्पादन र बजारीकरणमा कोकजस्ता वस्तु प्राथमिकतामा परे। लगानी त्यसैमा बढाइयो। तर, शारीरिक र मानसिक हितका आधारमा शुद्ध पिउने पानी कैयौं गुणाले लाभदायक छ।

कोकजस्ता पेय पदार्थ सर्वत्र उपलब्ध देखिन्छन्। यस्ता खाद्यवस्तु र त्यसमा मिसाइएका रासायनिक तत्व धेरै कारणबाट हानिकारक भएको प्रमाणित भइसकेका छन् तर प्रतिबन्धित छैनन्। बरु बजार, स्वाद र परम्पराको प्राथमिकतामा परेर दिनहुँ भोजन र भान्सामा ठोक्किन आइपुग्छन्। यसबाट सहजै ठोकुवा गर्न सकिन्छ कि बजार अर्थतन्त्र फस्टाउँदै जाँदा नाफा दिन नसक्ने मानवीय हितका आधार कमजोर हुँदै गएका छन्। खाद्य प्रणालीका दृष्टिकोणबाट पनि स्वतन्त्र बजार छाडा देखिएको छ।

हुन पनि मानिस मही (दही मोथेपछिको चरण) र पानी पिउन छाडेर कोक र जुस पिउने भलादमी बनेको छ। त्यति नै क्यान्सर, मधुमेह, मुटुलगायत दीर्घकालीन रोगको सिकार पनि भएको छ। बजार अर्थतन्त्रले मानिसको दिमागमा भरिदिएको पुरस्कार हो यो। यो एकप्रकारको भ्रम (इलुजन) पनि हो। बजारको शक्ति र जुक्तिले मानिसको स्वभावलाई यसरी परिवर्तन गराएर नाफालाई सफल बनाएको छ। बजारतन्त्रको यस्तै छलकपट (डिसेप्सन र मनिपुलेसन) लाई जबसम्म उपभोक्ताले बुझ्न सक्ने क्षमता राख्दैन तबसम्म ठगिइरहनेछ भनेर नोबेल पुरस्कारले सम्मानित अर्थशास्त्री रोबर्ट सिलर समेतले एउटा पुस्तकमा उल्लेख गरेका छन्।

त्यति मात्र होइन, केही समयअघि थाइल्यान्डले अमेरिकाबाट आयात गर्दै आएका खाद्य उत्पादनमा अखाद्यवस्तु र अधिक विषादी प्रयोग गरेको समस्या उठायो। नेपालमा पनि भारतबाट आएका त्यस्तै खाद्यवस्तुको विषयलाई लिएर उपभोक्ता विरोधमा उत्रे। तर, विश्व व्यापार संगठनको सम्झौतालाई आधार बनाएर ठूला प्रजातान्त्रिक मुलुकले अन्यथा गर्न नसकिने दबाब दिए। मानिसको स्वास्थ्यभन्दा व्यापारको मोहमा शक्ति हुन्छ भन्ने सन्देश उनीहरूको व्यवहारले दियो। यहाँसम्म व्यापारको शक्ति अपार भएर फैलिएको छ। यसबाट पनि प्रजातान्त्रिक भनिने मुलुक प्रजातन्त्र, नागरिक अधिकार कुण्ठित गर्न उद्यत देख्न, बुझ्न सकिन्छ।

खाद्य परम्परा पनि अचम्मकै हुन्छ। ठाउँ र परम्पराअनुसार प्रचलित परिकार नित्य कर्म हुने गरेको छ। दिनहुँ खाइने वस्तुमा पौष्टिकताको मान्यताअनुसार बहुआयामिक सोच देखिँदैन। कतै दाल, भात तरकारीबाहेक कमै परिकार बनेका हुन्छन् त कतै रोटी, पास्ता । त्यो पनि सधैँजसो! चामलबाट बनेका परिकारजस्तै भात एसियाको मुख्य कृषि उत्पादन र खाद्यान्न पनि हो। मोटोपना (ओवेसिटी) र डायबेटिजका हिसाबले कार्बोहाइड्रेट हानिकारक छ।

भातबाट पाइने प्रमुख तत्व नै कार्बोहाइड्रेट हो। यसको सहज विकल्प र निकास दिन सकिएको छैन। उदाहरणका लागि चामलको उत्पादन घटाउने वा कर बढाउने अथवा मकै, गहुँको उत्पादन बढाउने कर, भन्सार महसुल आदि शुल्क घटाउनेजस्ता सरकारका नीतिगत निर्णयले उपभोक्ताको स्वभाव र रुचिमा परिवर्तन ल्याउन सकिन्छ। यस्ता नीतिगत तरिकाबाट पनि समस्याको सम्बोधन हुन सक्छ तर सरकार यतातिर सोच्नुलाई दायित्व ठान्दैन।

तर, नेपालको सन्दर्भमा चामललाई सहजै उपेक्षा गर्न नसकिने अन्य कारण पनि छन्। परिकारको प्राथमिकताबाहेक धार्मिक मान्यतामा समेत चामलले जरो गाडेर बसेको छ। अन्न प्रासन (भात ख्वाई), हवन (शुरो–चरू), भिक्षा दान (ब्रतवन्ध), पिण्ड (पितृ कर्म), बुर्की (मुर्दा घाटमा लैजाँदा बाटोमा छरिने धान, चामल, लावा) अक्षता (पूजा पाठ), लावा (विवाहमा दुलहीबाट चढाइने भुटेको धान) लगायत सेलरोटी, सिरौंला (भुजा वा मुरही) कसार, अनरसा, खिउनी (झिलिंगा), खिर अदि परिकारको स्रोत नै चामल हो। हरेक देशमा यस्ता परम्पराले काम गरेको हुन्छ।

हुँदा–हुँदा अब त खाद्य वस्तुको उत्पादन, वितरण र सञ्चयमा समेत बहुआयामिक समस्या देखिन थालेका छन्। जमिन, सिँचाइ, श्रमिकको टड्कारो समस्या एकातिरबाट उदाउँदै गएको छ भने उत्पादनदेखि उपभोगसम्मको चरणमा फ्याँकिने नासिने अवस्था, लामो कोरोना संक्रमण, तीव्र असमानता, बढ्दो जनसंख्या, बेरोजगारी, गरिबी र बजारमा घीनलाग्दो अनैतिक (अनएथिकल) नाफा मोहले समस्यालाई थप जटिल बनाउँदै लगेको छ।

मांशाहारी भोजन र हिंसालाई पूर्वीय मान्यताले अस्वीकार गरेको थियो तर अहिलेको बजार र स्वादले घिचाइरहेको अवस्था छ। शाकाहारीको तुलनामा मांशाहारी भोजन धेरै खराब मानिन्छ तर परम्परा बदलिएको छ। समाज बरालिएर कम लाभदायक वस्तु र सेवाप्रति पनि निरन्तर आकर्षित हुँदै जानु राम्रो होइन।

भान्सेलाई मन नपरेको खाना पाक्ने, पस्किने चलन हुँदैन। परिवारका प्रत्येक सदस्यका लागि शारीरिक अवस्था, उमेर र बनावटका आधारमा फरक–फरक पौष्टिक तत्वको आवश्यक पर्छ। बालबालिकाका लागि क्याल्सियम, गर्भवतीका लागि आइरन हेमोग्लोबिन, बूढाबूढीका लागि फाइवरयुक्त खानाको विशेष आवश्यक पर्छ।

सबैको आवश्यकतालाई प्रचलित भान्साको मान्यताले सम्बोधन गर्ने अवस्था बन्न सक्थ्यो तर बनेको छैन। यसका लागि न जनचेतना छ, न त आर्थिक अवस्था नै सक्षम देखिन्छ। नीति निर्माता, राज्य पक्ष र प्रणाली त रमिते देखिएको छ। बालबालिका, गर्भवतीमा कुपोषणको समस्या व्याप्त छ। मोटोपनको समस्या चर्किंदै, टन्किंदै गएको छ।

अमेरिकामा गरिएको एउटा अध्ययनले कलेज पढ्ने युवा–युवतीमा सबैभन्दा धेरै कुपोषण देखाएको छ। विद्यार्थीमा आर्थिक स्रोतको अभाव, नयाँ परिवेश र परिबन्ध, अभिभावकसँग आस गर्न नसकिने अवस्था, खराब र लहै–लहैको खानपिन, सस्तो र कम गुणस्तरीय उत्पादनबाट सहजै आकर्षित गर्न सकिने समूहजस्ता कारणले यस्तो समस्या देखिएको बताइएको छ। विद्यार्थीलाई सस्तोमा उपलब्ध हुन सक्ने पोषणयुक्त आहार–बिहार बारेको ज्ञान बाँड्ने, बढाउने, मान्यता बदल्ने र महत्व सिकाउने आधिकारिक शिक्षा प्रणाली पनि छैन।

हुँदा–हुँदा अब त खाद्य वस्तुको उत्पादन, वितरण र सञ्चयमा समेत बहुआयामिक समस्या देखिन थालेका छन्। जमिन, सिँचाइ, श्रमिकको टड्कारो समस्या एकातिरबाट उदाउँदै गएको छ भने उत्पादनदेखि उपभोगसम्मको चरणमा फ्याँकिने नासिने अवस्था, लामो कोरोना संक्रमण, तीव्र असमानता, बढ्दो जनसंख्या, बेरोजगारी, गरिबी र बजारमा घीनलाग्दो अनैतिक (अनएथिकल) नाफा मोहले समस्यालाई थप जटिल बनाउँदै लगेको छ।

केही महिनाअघि स्कटल्यान्डमा सम्पन्न कोप–२६ सम्मेलनले खाद्य सुरक्षा र खाद्य प्रणालीका यस्ता जल्दाबल्दा समस्यामाथि कुनै वास्ता नगरेकाले विश्व जनमानस निरास देखिएको छ। कोप–२६ सम्मेलनको उद्देश्य पृथ्वीको तापक्रमलाई एक दशमलव ५ मा सीमित गर्ने पेरिस सम्मेलन–२०१५ ले दिएको सुझावप्रति प्रतिबद्धता जनाउनु थियो। जलवायु परिवर्तन र खाद्य प्रणालीको ‘नेक्सस’ अटुट, पूरक र आश्रित छ तर सम्मेलन सन्निकट खाद्य समस्याप्रति उदासीन देखियो।

राजनीति, राज्य, नीति निर्माण तह यस समस्यामा जागृत हुन सकेको छैन। उल्टै विकासको नाममा विनाश (जंगल, पानी, जमिन, श्रम माथिको अतिक्रमण) लाई तीव्रता दिँदै गएको छ। विनाशको यो गति नीतिगत निर्णयबिना सहजै रोकिने देखिँदैन। विकराल विकृत खाद्य व्यवस्थाको मर्मतका लागि मानिसमा विस्तारै आएको चेतनाको स्तर पर्याप्त छैन। राज्यको हस्तक्षेप आवश्यक भइसकेको छ।

आहार–विहारको तरिकाले पनि फरक पारेको छ। पूर्वीय मान्यताअनुसार खाना खानु करिब आधा घण्टाअघि पिएको पानी अमृतबराबर, सँगै पिएको पानी ठीकै र खाना सक्नेबित्तिकै पिएको पानी विष बराबर हुने बताइन्छ। यसमा थप अनुसन्धान हुन सक्छ। पानीको मात्राले पनि शरीरलाई स्वस्थ वा अस्वस्थ बनाउन सक्छ। खाने कुराको समय, निद्राले पनि पाचन शक्तिमा असर गरेको हुन्छ। अहिले देखिएका, विकसित हुँदै गएका स्वास्थ्य समस्याको मुख्य कारण विकृत खाद्य व्यवस्था हो।

खाना स्वादका लागि हो वा स्वास्थ्यका लागि पौष्टिक तत्वको पूरक हो भनेर गम्भीर हुने, विचार गर्ने, सतर्कता अपनाउने बेला आएको छ। त्यस्तै, नाफाले निर्दिष्ट गरेका जंक फुड, कीटनाशक, मिसावट, कम गुणस्तरीय, म्याद नाघेकाजस्ता उत्पादनको चंगुलबाट उम्कने उपायबारे पनि सोच्न जरुरी छ। मानिसले कोका र जुस पिउन छाडेर शुद्ध पानी पिउन प्रतिबद्ध भएपछि मात्रै अधिकांश रोगबाट मुक्त हुने बाटो खुल्नेछ। साथै, खाद्यवस्तुबाट मानिसको स्वास्थ्यमा परिरहेको प्रतिकूल असरप्रति नीति निर्माताको ध्यान जान जरुरी छ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्