नेपालगञ्ज–सिमकोटका लागि हवाई कार्गाेको भाडा घट्यो

सिमकाेट विमानस्थल। फाइल तस्बिर

सिमकोट – नेपालगञ्जबाट सिमकोटका लागि हवाई मार्गबाट ढुवानी हुने कार्गाे सामानको ढुवानी दर घटेको छ। प्रतिस्पर्धात्मक रूपमा एयरलाइन्सहरूले सामान ढुवानी गर्नुपर्ने भएपछि निजी एयरलाइन्सहरूले आ–आफ्नै किसिमले ढुवानी दर घटाएका छन्।

तारा एयर नेपालगञ्जका कर्मचारी डम्बर रावतले सिमकोटका लागि कार्गाे सामानको ढुवानी दर घटेको जानकारी दिए।

उनले घटेको ढुवानी दर प्रतिकेजी ११५ रुपैयाँ कायम भएको र त्यो लागू गरिएको बताए।

यसअघि ताराले सो सेक्टरको प्रतिकेजी १२५ रुपियाँ ढुवानीदर लिने गरेको थियो। त्यसैगरी सीता एयर नेपालगञ्जका सन्दीप भण्डारीले प्रतिकेजी सय रुपैयाँमा कार्गाे सामान ढुवानी कायम गरिएको जानकारी दिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हवाई मार्गको खाद्यान्न ढुवानी जिम्मा पाएको सो एयरलाइन्सले सिम्रिक एयर कार्गोबाट खाद्यान्न भने प्रतिकेजी १०८ रुपैयाँमा ढुवानी गर्दै आएको छ। सीता एयरले आफ्नो ढुवानी दरमा कुनै परिवर्तन नगरेको जनाउँदै उसले सबैभन्दा सस्तोमा सामान ढुवानी गरिरहेको जनाएको छ।

यता, समिट एयरले पनि प्रतिकेजी कार्गाे सामानका ११० रुपैयाँमा सामान ढुवानी गरिरहेको छ। सो एयरले यसअघि नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी १२५ रुपैयाँमै ढुवानी गर्दै आएको थियो।

यता, नेपाल एयरलाइन्सले पनि कार्गाे सामानको प्रतिकेजी सय रुपैयाँमा सामान ढुवानी गर्दै आएको छ। व्यापारी बुद्धि रोकायाले सबै एयरलाइन्सले समान भाडादर कायम गर्न नसकेको बताए।

उनले अहिले घटे पनि सबैको कार्गाे भाडादर समान हुनु पर्ने मागसमेत गरे। यो समयमा पहाडी अन्य जिल्लामा हवाई उडान कम हुने र बढी सिमकोट उडान भर्नका लागि पनि एयरलाइन्सले भाडा घटाएका हुन्। यसअघि दसैँ–तिहार र पर्यटकीय सिजनमा प्रतिकेजी १४० रुपैयाँसमेत एयरलाइन्सले असुल्ने गरेको गुनासो सुनाउँदै उनले अहिले भाडादर घटेकामा भने व्यापारीलाई राहत पुगेको बताए।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्