फुटबलका पूर्वप्रशिक्षक हरि खड्काविरुद्ध अख्तियारमा नक्कली सर्टिफिकेटको मुद्दा

काठमाडौँ – नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले नेपाल प्रहरीको सहायक निरीक्षक (असई) मा स्थायी जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा मुद्दा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। खड्काले भारतको बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र (आईए) नक्कली भएको आयोगको दाबी छ।

उनले नक्कली प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाएका थिए।

खड्का २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए।

उनी अहिले सेवा निवृत्त भइसकेका छन्। अनुसन्धानबाट उनको प्रमाणपत्र नक्कली देखिएको आयोगको दाबी छ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्