हिमपात भइरहेका बेला थुरथुर काम्दै चामल लिनेको घुइँचो

सिमकोट – हिमपात भइरहेका बेला चिसोमा थुरथुर काम्दै सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम खाद्यान्न लिनेको घुइँचो लागेको छ। लिमिटेडको शाखाले पूर्वसूचना निकालेर खाद्यान्न बिक्री बिहानैबाट सुरु गरेपछि स्थानीय हिमपात भइरहेकै बेला पनि लामबद्ध भएर खाद्यान्न खरिद गर्न लागेका हुन्।

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका स्थानीय सुरेन्द्र शाहीले हिमपात भइरहे पनि खाद्यान्न लिनुपर्ने बाध्यता रहेको बताए। खाद्यान्न लिन लाइनमा बसेका अधिकांश सेवाग्राही थुरथुर कामेर लाइनमा बसेको बताउँदै उनले यो बाध्यता रहेको जानकारी दिए।

लिमिटेडको शाखाले महिनाको एक पटक मात्र खाद्यान्न बिक्री गर्ने भएकाले हिमपातमा पनि चिसो नभनी लाइनमा बसेर लिनुपर्ने बाध्यता भएको हो। बिहान डेढ घण्टा हिँडेर उनी शाखाको गोदाममा खाद्यान्न खरिद गर्न आएका हुन्। शाखाले बुधबार सिमकोट–७ र ८ वडाका बासिन्दालाई खाद्यान्न बिक्री गरिरहेको छ।

परिवारका एक जना सदस्य बराबर चार केजी खाद्यान्न खरिद गर्न शाखामा आएर लाइनमा बस्नुपरेको हो। न्यून मौज्दातका कारण चार महिनापछि शाखाले खाद्यान्न बिक्री गरेपछि सेवाग्राहीको चिसोमा पनि ठूलो घुइँचो लागेको हो।

लिमिटेडका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले पहिले नै सूचना निकालिएका कारण हिउँ परिरहेका बेला खाद्यान्न वितरण गर्नुपरेको बताए।

गोदामबाहिर धेरै सर्वसाधारण खाद्यान्न खरिद गर्न लाइनमा बस्नुपरेको उनले जानकारी दिए।

उनले हिउँ परिरहेकाले तापक्रम माइनस ७ डिग्रीमा झरे पनि खाद्यान्न बिक्री भइरहेको बताए। यद्यपि, सर्वसाधारणले चिसोको प्रवाह नगरी शाखाले खाद्यान्न बिक्री गर्नुपर्ने बाध्यता रहेको जनाएको छ। यसका लागि बालबालिका, वृद्धवृद्धादेखि महिलासम्म लाइनमा बसेका छन्। चिसो बढी भएकाले लाइनमा बसेका सर्वसाधारण चिसोले थरथर कामिरहेका छन्।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्