मधेश प्रदेशमा सत्तागठबन्धनको दुवै उम्मेदवार विजयी

जनकपुरधाम-  राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनको दुवै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ नेकपा माओवादी केन्द्रको पर्साकी उर्मिला अर्याल र अन्य तर्फ जनता समाजवादी पार्टीका सिरहाका खालिद सिद्धिकी विजयी भएका छन् ।

अर्यालले  ६१५६  मत ल्याएर विजयी भएकी छिन् । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त उम्मेदवार रुपा यादवले २७५४ मत ल्याएकी छिन् ।

नेकपा एमालेकी बिना देवी साहले भने  ३०६  मत ल्याएकी छिन् ।

केही दिन अघि नेकपा एमाले र लोसपाले गठबन्धन गरेका थिए । बिना देवीले समेत रुपालाई नै समर्थन जनाएकी थिइन् ।

यद्यपि उम्मेदवारी फिर्ता लिने समय बितेकाले उनको नाउँमा समेत मतदान भएको हो ।

अन्य तर्फ सिद्धिकीले ६६७८  मत ल्याएर विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार उस्मान अन्सारीलाई पराजित गरेका छन् । अन्सारीले २७६६ मत ल्याएका छन् ।

मधेश प्रदेशमा ३ सय ७२ जना उम्मेदवार रहेकोमा ३ सय ६६ मत खसेको थियो । स्थानीय तहका ४ जना र प्रदेशसभा सदस्य २ जनाले मतदान गरेनन् ।

माघ १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्