युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्नु पर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकन

युक्रेनलाई सैन्य गठबन्धन नेटोमा सामेल हुनबाट रोक्नु पर्ने रुसको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ ।

युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको रुसले आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा देशको आरोप छ । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले युक्रेनलाई लिएर उत्पन्न तनाव अन्त्य गर्नका लागि अमेरिका आधिकारिक प्रस्ताव वा अडान रुसलाई बुझाएका छन् ।

विदेशमन्त्री ब्लिंकनले अमेरिकी प्रस्तावबारे विस्तृतमा केही बताएका छैनन् । तर आफूहरुले समस्या समाधानका लागि गम्भीर कूटनीतिक मार्ग सुझाएको र अब कुन बाटो हिँड्ने भन्ने रुसको रोजाइ रहेको उनले बताएका छन् ।

नेटोसँगको सहकार्यमा ब्लिंकनले रुसलाई आधिकारिक जवाफ वा प्रस्ताव बुझाएका हुन् । रुसी मन्त्रीले ब्लिंकनको प्रस्ताव अध्ययन गर्ने जनाएको छ ।

रुसले आफ्ना मागहरु सूचिकृत रुपमा पेश गरेको थियो, त्यसमा युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्न भनिएको थियो । तर अमेरिकाले सो प्रस्ताव अस्वीकार गरेको हो ।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्