जिप दुर्घटनामा परि झापाका होटल व्यवसायी थापाको निधन

झापा – व्यावसायिक कामका लागि इलाम जाँदै गर्दा जिप दुर्घटनामा परि झापाका होटल व्यवसायी रमेश थापाको निधन भएको छ। उनीसंगै रहेका उनका भाइ सूर्य थापाको पनि सोही दर्घटनामा परि निधन भएको छ।

व्यावसायिक कामको सिल्सिलामा उनीहरू इलामतर्फ जाँदै गर्दा इलाम जिल्ला टेक्ने बितिक्कै उनीहरू सवार जिप दुर्घटनामा परेको मेचीनगर नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए।

उनले भने, ‘दुर्घटनामा परेर झापाले एक सफल व्यवसायी गुमाएको छ।’

मेचीनगर ४ को बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका रमेश थापा र उनका भाइ सूर्य थापाको दुर्घटनामा मृत्यु भएको उनले जानकारी दिए।

झापाबाट इलाम जाँदै गरेको पिकअप जिप बिहीबार विहान मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

५५ बर्षिय रमेश र ४० बर्षिय सूर्यको ज्यान गएको प्रहरीको भनाइ छ।

उनीहरू सवार प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफैं अनियन्त्रित भइ सडकदेखि करिव पाँच सय मिटर तल झरेको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका जिपका चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए।

 

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्