मोरङको कटहरी गाउँपालिकामा ३ सय शय्याको अस्पताल निर्माण गरिने

मोरङ – मोरङको कटहरी गाउँपालिकामा ३ सय शय्याको सुविधासहित अस्पताल निर्माण गरिने भएको छ।

कटहरी गाउँपालिकामा जीवन विकास समाजले सुविधासम्पन्न सामुदायिक अस्पताल तथा प्राविधिक शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने भएको हो।

बिहीबार एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष योगेन्द्रप्रसाद मण्डलले अस्पतालको शिलान्यास गरेका छन्। सो क्रममा अध्यक्ष मण्डलले अस्पताल तीन चरणमा निर्माण हुने जानकारी दिए।

करिब १७ बिघा क्षेत्रफलमा निर्माण हुने अस्पताल ०८० सालको मंसिर मसान्तभित्र सम्पन्न हुने उनले बताए। विराटनगरको आशिष आशीर्वाद स्वामीनारायण जेभीसँग अस्पताल करिब अढाई अर्ब रुपैयाँमा निर्माण हुने गरी सम्झौता गरेको अध्यक्ष मण्डलले बताए।

जसअन्तर्गत अस्पतालको पहिलो ब्लकमा ६५ करोड रुपैयाँ खर्च हुनेछ। न्यून सेवा शुल्कमा गुणस्तरीय सेवा प्रवाह गर्ने र नाफा कमाउने उद्देश्य नराखी काम गर्ने अध्यक्ष मण्डलको भनाइ छ।

समाजले प्रदेशकै नमुना र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यसहित गाउँपालिकामा अस्पताल निर्माण गरिने अस्पताल संयोजक दामोदर रेग्मीले जानकारी दिए।

माघ १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्