युक्रेनमाथि आक्रमण गरे रुसको अर्थतन्त्रमा निशाना, इन्धन व्यापारको प्रमुख पाइपलाइन नै बन्द गर्ने चेतावनी

सीमा क्षेत्रमा रहेका युक्रेनका सैनिक, सो क्षेत्रमा रुसले एक लाख सैनिक तैनाथ गरेको छ । तस्बिर : गेट्टी इमेज

युक्रेनमाथि आक्रमण गरेमा रुसको इन्धन व्यापारमा अवरोध गर्ने चेतावनी अमेरिकाले दिएको छ । रुसी ग्यास पश्चिम युरोपमा आपूर्ति गर्ने मुख्य पाइपलाइन (नर्ड स्ट्रिम २) को काम नै रोक्न सकिने चेतावनी अमेरिकाले दिएको हो ।

नर्ड स्ट्रिम २ रुसबाट जर्मनीसम्म पुग्छ । बिहीबार जर्मन अधिकारीले रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा पाइपलाइन परियोजनामाथि नै प्रतिबन्ध लाग्न सक्ने बताएको थियो ।

अमेरिकासहितका पश्चिमा साझेदार राष्ट्रहरुले युक्रेनमाथि सैन्य गतिविधि गरेको खण्डमा रुसको अर्थतन्त्रलाई निशाना बनाउने बताउँदै आएका छन् ।

अमेरिका तथा नेटोमा आवद्ध पश्चिमा राष्ट्रले रुस युक्रेनमाथि आक्रमणको तयारीमा रहेको बताउने गरेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्ने गरेको छ । तर युक्रेनसँगको सीमा क्षेत्रमा रुसले करिब एक लाख सैनिक तैनाथ गरेको छ ।

रुसले पछिल्ला हप्ताहरुमा युक्रेनसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएसँगै आक्रमणको त्रास र तनाव बढेको हो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी रेडियो एनपिआरसँग भनेका छन्, ‘म स्पष्ट रुपमा भन्न चाहन्छः यदी रुसले युक्रेनमाथि कुनै पनि रुपमा आक्रमण थाल्यो भने नर्ड स्ट्रिम २ अघि बढ्न सक्दैन ।’

सैन्य गतिविधि भएको अवस्थामा जर्मनीले पनि सो परियोजनामा काम नगरोस् भन्ने सुनिश्चितताका लागि प्रयास गरिने उनले बताएका छन् ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्