रुसले युक्रेनमा आउँदो महिना सैन्य आक्रमण गर्न सक्छ : बाइडेन

रुसले आउँदो महिना (फेब्रुअरी) मा युक्रेनमाथि सैन्य आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनमा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी बाइडेनले दिएको बताएको हो ।

यसैबीच रुसले तनाव समाधान हुने सम्भावना निकै कम रहेको बताएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसले बताएको हो ।

रुसले सैन्य गठबन्धन नेटोमा युक्रेनको प्रवेश बन्देज गरिनु पर्ने माग गरेको थियो, तर अमेरिकाले भने सो माग स्पष्ट रुपमा अस्वीकार गरेको छ ।
रुसले पछिल्लो केही हप्तामा युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ ।

अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा रुसले आउँदो महिना आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् ।

टेलिफोन वार्ताको क्रममा बाइडेनले रुसले आक्रमण गरेको खण्डमा अमेरिकासहित साझेदार राष्ट्रहरुको साथ युक्रेनलाई रहने भनी जेलेन्स्कीलाई विश्वास समेत दिलाएको ह्वाइट हाउसले जनाएको छ ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्