मोरङ – मोरङका विभिन्न स्थानीय निकायका विद्यालयमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको छ।

विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयबाट १ लाख ४२ हजार वटा खोपको माग आएको थियो।

सोहीअनुरूप विद्यालय तहलाई खोप उपलब्ध गराइसकेको उनले बताए। शुक्रबारबाट पालिकाका विद्यालय खोप केन्द्रमा अभियान सुरु भएको जानकारी दिँदै मेहताले बिहीबारसम्म खोप लगाउने कार्य सक्ने लक्ष्य राखेको जानकारी दिए। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप लगाइएको मेहताले बताए।

अर्कोतर्फ, प्रदेश राजधानी विराटनगरभित्र रहेका विद्यालयमा आइतबारबाट मात्र खोप लगाउने कार्य सुरु हुने महानगर शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार महानगरभित्र ४५ वटा विद्यालयलाई खोप केन्द्रका रूपमा तोकिएको छ।

यसक्रममा ४२ हजार विद्यार्थीका लागि खोपको माग रहेको बताएका अधिकृत भट्टराईले बिहीबारसम्म खोप लगाउन विद्यार्थी छुटे भने पुनः खोप कार्यक्रम जारी रहने प्रस्ट्याए। खोपका लागि विद्यालयले सहजीकरण गर्ने बताएका उनले खोप लगाउन विद्यार्थीले उमेर खुल्ने कागजपत्र, जन्मदर्ता, नागरिकता वा विद्यालय परिचय पत्र खुलाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, जहँदा गाउँपालिकास्थित श्रीदुर्गा माविमा कक्षा ४ मा अध्ययनरत आरती हस्दाले कोरोनाविरुद्धको खोप लगाएको बताइन्। १२ वर्षीया हस्दाले कोरोनाबाट जोगिन खोप लगाएसँगै साबुनपानीले हात धुने, मास्क लगाउने तथा भीडभाडमा जान नहुने बताइन्। मझारे स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी विनिता भट्टराईले शुक्रबार विद्यालयमा १ सय ७० जना विद्यार्थीलाई खोप लगाइएको जानकारी दिइन्।

यसक्रममा १ सय जना छात्रा र ७० जना छात्र छन्। आइतबारसम्म सो विद्यालयमा खोप लगाउने कार्यक्रम रहेको बताएकी स्वास्थ्यकर्मी भट्टराईले त्यसपछि अन्य विद्यालय खोप केन्द्रमा कार्यक्रम हुने बताइन्।

गाउँपालिकाको विभिन्न १० वटा विद्यालयलाई खोप केन्द्र बनाएको छ। गाउँपालिकाले विद्यार्थीका लागि १० हजार ५ सय डोज खोप माग गरे पनि पहिलो चरणमा ८ हजार डोज खोप मात्र पाएको छ। यद्यपि, आवश्यक परेको खण्डमा बाँकी खोप थप जोडिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्