काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना संक्रमित थपिएका हुन्।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ।

यस्तै शुक्रबार ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १३ हजार ७९१ पीसीआर तथा ६ हजार ७८ एन्टिजेन परीक्षण भएको छ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्