माइनस तापक्रममा एसईईको तयारी गर्नै कठिन

सिमकोट – हिमपातले चिसो अत्यधिक बढेपछि माइनस तापक्रममा उत्तरी हुम्लाका माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गर्न कठिन भएको विद्यार्थीले बताएका छन्। अत्यधिक चिसो भए पनि परीक्षाको तयारी गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

बालमन्दिर माविमा एसईईको तयारी कक्षामा सहभागिता जनाउँदै आएका नैनसिंह सुनारले चिसो माइनस ११ डिग्री पुगे पनि बिहानैबाट सहभागिता जनाउँदै आएको बताए। उनले घाम लागेका बेला केही सहज भए पनि अधिकांश दिन माइनस तापक्रममै अध्ययन गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए।

कक्षामा कोरोनाका कारण पाठ्यक्रम पूरा नभई बिदा भइसकेकाले चिसो बढे पनि ट्युसन कक्षा लिनै पर्ने बाध्यता छ।

सोही विद्यालयमा एसईईको तयारी कक्षामा अध्ययन गर्दैै आएकी श्रीदेवी शाहीले चिसोका कारण मुखबाट आउने वाफ फुकेर हात तताउँदै अध्ययन गर्नुपरेको जानकारी दिइन्। चिसो भए पनि अध्ययन गर्न छाड्न नमिल्ने भन्दै उनले सबै विद्यार्थीले शरीरमा बाक्ला कपडा लगाउने, ऊनी टोपी, बाक्ला मोजा, ज्याकेट लगाएर माइनस तापक्रममा बिहानैबाट ट्युसन केन्द्रमा धाउनुपर्ने बाध्यता रहेको बताइन्।

उनले धेरै चिसो भएका दिन शिक्षकले पढाएको भन्दा बढी ध्यान चिसोतर्फ केन्द्रित हुने भएकाले पढाइमा समेत असर परेको जनाइन्। उनले प्रत्येक विद्यार्थीले हरेक वर्ष यो समस्या भोग्दै आए पनि यस वर्ष बढी चिसो भएको बताइन्। ट्युसन कक्षामा अध्यापन गराउँदै आएका विज्ञान र गणित विषयका शिक्षक धीरज रोकायाले माइनस १७ डिग्री चिसोमा कक्षा सञ्चालन गर्न कठिन भएको बताए।

कोरोनाका कारण एउटा कक्षामा २५ जना विद्यार्थीको समूह बनाएर अध्ययन गराउँदै आएको उनले बताए। माथिल्लो हुम्लाका १२ वटा माध्यमिक विद्यालयका २६५ जना विद्यार्थीले एसईईको तयारी गरिरहेका छन्।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्