सामाजिक सुरक्षा भत्ता गायव गर्ने वडासचिव सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं- नुवाकोटस्थित पञ्चकन्या गाउँपालिका वडा नं २ की वडा सचिव सरिता राउतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। भत्ता र राजस्व रातारात गायब पार्ने वडासचिवसहित तीनजनालाई आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

राउतसहित कार्यालय सहायक रामकुमार गिरी र सहयोगी नीलप्रसाद मिश्रले सरकारको सम्पत्ति बदनियतपूर्ण हानी नोकसानी गरेको अख्तियारको आरोप छ। उनीहरूलाई ५३ लाख एक हजार आठ सय ५६ रूपैयाँ बिगो माग दाबी गर्दै शुक्रबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा उठेको राजस्व रकम शंकास्पद रूपमा हराएकोबारे आयोगमा उजुरी परेको थियो। यसबारे अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक गिरी र अर्का सहयोगी मिश्रको रहोवरमा उक्त रकम राखिएको भेटिएको आयोगको दावी छ।

अनुसन्धानमा खुलेअनुसार रकम राखिएको दराजका सेफको चाँबी सरिता राउत र रामकुमार गिरीसँग थियो। त्यस्तै, ढोकाको चाँबी भने नीलप्रसाद मिश्रले बोकेका थिए। रकम गायब भएपछि पनि चाँबी लगाएको ठाउँमा कतै पनि तोडफोड भएको थिएन।

रकम हराउँदासमेत उनीहरूले प्रहरीलाई जानकारी दिने र खोजीका लागि समन्वय नगरेको उल्लेख छ। अनुसन्धानको क्रममा उनीहरूले उक्त रकम वडा कार्यालयमै राखी घर गएको देखिएको हुँदा तीनैजनालाई भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

सरिता राउत, रामकुमार गिरी र निल प्रसाद मिश्रले सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेकोले उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले हुँदा ऐनको दफा १७ बमोजिम र दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ कायम गरी सजाय र दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम उनीहरुबाट असुलउपर मागदाबी गर्दै आयोग ऐन, २०४८ को दफा १८ र ३५(१०) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम शुक्रबार बिशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर गरिएको आयोगले जनाएको छ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्