७० प्रतिशतले पाए कोभिड १९ बिरुद्ध पूर्ण खोप, ३ लाखलाई बुस्टर

फाइल तस्बिर ।

काठमाडौं- सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत सर्वसाधारणले कोभिड १९ बिरुद्धको खोप पूर्णमात्रामा पाइसकेको बताएको छ।

नेपालमा कोभिड १९ बिरुद्ध खोप लगाउन सुरु गरेको एक वर्ष पुगेको अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रबार एक विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका हुन्।

मन्त्री खतिवडाले जारी गरेको विज्ञप्तिअनुसार १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६ सय ७० बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। त्यस्तै, तीन लाखले बुस्टर डोज लगाइसकेको पनि उनले उल्लेख गरेका छन्।

नेपालमा हालसम्म कोभिड १९ बिरुद्धको ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा ३ करोड ६ लाख ४ हजार १५२ डोज खोप लगाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

 

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्