न्याय सेवाका कर्मचारीको सरुवाबढुवा गर्ने आयोगको निर्णय

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीहरुको सरुवा तथा बढुवा गर्ने निर्णय गरेको छ।

विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यक्ष रहेका आयोगको बैठकले कर्मचारीको सरुवा बढुवा अत्यावश्यक भएको भन्दै निर्णय गरेको हो। कतिपय अवकास पाउन लागेका कमैचारीको बारेमा पनि निर्णय भएको स्रोतले जानकारी दियो।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीश वकिलहरुले आन्दोलन गरिरहेको अवस्था नेपाल बारले उक्त बैठक नै नबोलाउन र बोलाएमा सहभागी नहुन आह्वान गरेको थियो।

तर कर्मचारीको विषय अत्यावश्यक भएको भन्दै निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिए।

निर्णमा अध्यक्ष राणासहित कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, महान्यायाधीवक्ता खम्बबहादुर खातीले हस्ताक्षर गरेका छन्।

कार्की र खाती भौतिक रुपमा बैठकमा सहभागी नभए पनि निर्णय पुस्तिका मगाएर हस्ताक्षर गरेका हुन्।

जिल्ला न्यायाधीश नियुक्तिमा असहमति

आयोगका दुई सदस्य कार्की र खातीले लोकसेवा आयोगले सिफारिस गरेका नयाँ जिल्ला न्यायाधीशको नियुक्तमा भने असहमति जनाएका छन्।

राणाले कार्यसूचीमा लिखित परीक्षा लिएर लोकसेवा सिफारिस गरेका जिल्ला न्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि रोकिएको छ। लिखित परिक्षाबाट सिफारिस भएर बसेका २९ जना जिल्ला न्यायाधीशले नियुक्ति पाएका छैनन्।

यदि अहिले जिल्ला न्यायाधीशको नियुक्ति गर्ने हो भने राणाले अरु निर्णय पनि गराउन सक्ने आशंकामा उनीहरुले असहमति जनाएका हुन्।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्