हुम्लाको सुदूर गाउँले ल्यायो आफ्नै एम्बुलेन्स

सिमकोट – बाजुरा जिल्लासँग सिमाना जोडिएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

कर्णाली करिडोरसँग सो गाउँपालिका जोडिएको र त्यसबाट गाउँपालिका केन्द्रसम्म लिंक सडक निर्माण भएपछि एम्बुलेन्स सञ्चालन गर्न सम्भव भएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गत वर्षदेखिको एम्बुलेन्स सञ्चालन गर्ने प्रयास यसपटक सफल भएको बताए।

सो एम्बुलेन्स कर्णाली प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सञ्चालनमा ल्याउन सम्भव भएको हो।

उनले खरिद तथा अन्य प्रक्रिया मिलाउन केही समय लागे पनि अब गाउँपालिकामा एम्बुलेन्स सञ्चालन गर्न सफल भएको जनाए।

कर्णाली करिडोरसँग गाउँपालिका जोडिएको र त्यसबाट प्रदेश सरकार र गाउँपालिकाको लगानीमा सडक निर्माण कार्य भए पनि गाउँमा एम्बुलेन्स सञ्चालन गर्न सहज भएको हो। यसअघि स्थानीय बासिन्दा बिरामी हुँदा गाउँपालिकाको गाडी प्रयोग हुँदै आएकोमा अब बिरामीको उद्धार एम्बुलेन्सबाट हुने भएको हो।

गाउँपालिकाको गाडी अन्यत्र गएका बेला भने निजी गाडी महँगो भाडा तिरेर बिरामीको उद्धार हुने गरेको थियो। ताँजाकोटको पाँच वटै वडामा सकड सञ्जाल जोडिएको छ।

उनले गाउँपालिका केन्द्र छप्रेलामा रहने एम्बुलेन्सले स्थानीय बासिन्दा बिरामी भए निःशुल्क उद्धार गरिने बताए। यसअघि पाँच वटै वडाका बासिन्दा बिरामी भएको समयमा मानिसले डोको, मानिस र स्टेचरमा बोकेर स्वास्थ्य चौकीसम्म बिरामी ल्याउनु गरिन्थ्यो। उनले गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा आएपछि यी सबै समस्याको समाधान भएको बताए।

गाउँपालिकाको यो कार्यबाट न्यून आयस्रोत भएका र गरिबका लागि निकै उपयोगी हुनेछ। गाउँपालिकामा आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने जिल्लाकै ताँजाकोट पहिलो गाउँपालिका भएको छ।

यसअघि खार्पुनाथ गाउँपालिकालाई भारतीय दूतावासबाट निःशुल्क एम्बुलेन्स उपलब्ध भए पनि हेलिकोप्टरबाट ढुवानी गर्न नसकिएका कारण हालसम्म काठमाडौँमै छ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्