मोरिससँग दशरथ रंगशालामा शनिबार भिड्दै छ नेपाल

काठमाडौँ-  पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ।

उता, भ्रमणकारी टोली मोरिससले भने नेपाललाई रोक्ने रणनीतिसाथ घरेलु टोलीको सामना गर्नेछ।

केही सातादेखि मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्नेछ।

खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए।

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।

यसअघि सामाजिक सञ्जालमै मोरिससविरुद्धको खेल हारे त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जिते त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका प्रशिक्षक सामाजिक सञ्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षक श्रेष्ठले बताए।

मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताए।

मैत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीको रुपमा रहेको भन्दै सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलमा भएका कमजोरी सुधार गर्दै सुखद नतिजाका लागि खेल्ने बताए।

यस्तै, मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए।

शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्दै छ। दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदै छ। सो खेलका लागि एन्फाले एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिँदै छ।

जसमा स्वास्थ मापदण्ड कडाइसाथ लागू हुनेछन्। प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनुपर्नेछ भने रंगशालाको गेटमै एन्फाले एन्टिजेन परीक्षण गर्नेछ।

माघ १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्