सत्ता गठबन्धनकाे बैठक बस्दै, के स्थानीय तहको निर्वाचन सत्ता गठबन्धनको टाउको दुखाई बन्दै छ?

फाइल तस्बिर

काठमाडौँ – पाँचदलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनले सहमति जुटाउन सकेका छैनन्। जसले गर्दा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन।

सत्ता गठबन्धन आउँदो मंसिरमा एकैपटक तीन तहको निर्वाचन गर्ने तयारीमा छन्। उनीहरुले स्थानीय तहको निर्वाचनअघि संघीय र प्रदेशसभाको निर्वाचन गर्ने गरी तयारीसमेत अगाडि बढाएको खबर बाहिर आइसकेको छ।

सत्ता गठबन्धनमा सहभागी पाँच दलमध्ये नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहभन्दा अगाडि संघीय र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अडानमा छन्। तर सरकारको नेतृत्व गरिरहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्र आउँदो बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवाज उठिरहेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनकै निर्णयको आधारमा अघि बढ्न लगभग तयार भइसक्दा पनि पार्टीभित्रको दबाबले उनी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अप्ठ्यारोमा पुगेको बताइन्छ।

वैशाखमा स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा नगरिए देउवामाथि फेरि ‘अक्षम’ को ‘बिल्ला’ लाग्ने किसिमले प्रचार गर्न थालिएको छ। २०५८/२०५९ सालमा देउवा प्रधानमन्त्री हुँदा नै स्थानीय तहको निर्वाचन गर्न उनी असफल भएका थिए। तर त्यसबेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक थिए। उसबेलाकै अवस्था देखाएर प्रधानमन्त्री देउवामाथि प्रमुख प्रतिपक्षी एमालेलगायत केही शक्ति स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने दबाब बढाउँदैछ।

जसले गर्दा स्थानीय तहको निर्वाचन सत्ता गठबन्धनको टाउको दुखाइको विषय बन्दै आएको छ। बैशाखभित्र स्थानीय तहको निर्वाचन नगरिँदा सत्ता गठबन्धन नै असफल हुने भाष्य निर्माण गरिएपछि पाँचदलका शीर्ष नेताहरु स्थानीय तहको निर्वाचनलाई लिएर बढी नै संवेदनशील बन्न थालेको बताइन्छ।

त्यसैले सत्ता गठबन्धनका शीर्ष नेताहरु दैनिकजसो बैठक, भेटघाट र छलफलमा व्यस्त छन्। यसैबीच गठबन्धनको बैठक शनिबार बिहान पनि बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकबाट संविधानसँग बाझिएका कानुन संशोधन गर्ने विधि र प्रक्रिया तथा स्थानीय तहको निर्वाचनबारे निर्णय लिइने बालुवाटार स्रोतले बताएको छ।

स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको निर्वाचनबारेको अहिलेसम्मको अन्योल चिर्ने सम्भावना छ। शुक्रबारसमेत भेट गरेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल गरेका थिए। सोही छलफललाई आज बस्ने बैठकले टुंगो लगाउने भएको बुझिएको छ।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्