दिल्ली ग्याङ्ग रेपका ११ आराेपी पक्राउ, बहिनी भन्छिन् – कसैले गरेनन् मेरो दिदीलाई सहयोग

दिल्लीको शाहदरा क्षेत्रको कस्तुरबा नगरमा एक महिलालाई कथित रुपमा अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई महिलाको केश मुण्डन गरेर अनुहारमा कालोपोतो पोतेर जुत्ताको माला लगाएर सडकमा तमाशा बनाइएको थियो। प्रहरीका अनुसार पीडितको उमेर २० वर्ष रहेको छ।

दिल्ली प्रहरीले शुक्रबार पक्रेका ११ जनामा ९ जना महिला पनि रहेका छन्। प्रहरीले अन्यलाई पक्रने जनाएको छ।

भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार पीडित महिलाका श्रीमानले बिहीबार प्रहरीमा उजुरी दिएका थिए। उनी घटनास्थलमा थिएनन्, उनलाई घर मालिकले यस घटनाबारे जानकारी दिएका हुन्।

प्रहरीले यो घटनाको बारेमा जानकारी पाउनेबित्तिकै घटनास्थलबाट पीडितलाई जोगाएर प्रहरी कार्यालय लगेका थिए।

प्रहरीले आइपिसीको विभिन्न धारालाई आधार मानेर मुद्दा दर्ता गरेको छ। यसमा सामूहिक बलात्कार, कुटपिट, यौन दुर्व्यवहार, आपराधिक षड्यन्त्रको आरोप पनि उल्लेख गरिएको छ।

पीडित महिलाकी बहिनीले बताएअनुसार पछिल्लो वर्ष छिमेकमा एक युवाले नोभेम्बर महिनामा आत्महत्या गरेका थिए, ती युवाले पीडित युवतीसँग प्रेम गर्ने दावी गरेका थिए।

ती युवकले आफ्नाे प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै रेलवे ‘ट्र्याक’ मा आफ्नो ज्यान दिएको बताइन्छ। युवकको परिवारले उनको आत्महत्याको कारण पीडित युवतीलाई मान्ने गरेका थिए।

युवकले आत्महत्या गर्नेवित्तिकै उनकाे परिवारले पीडित युवतीलाई तर्साउने र धम्काउने गर्दै आएको थियो। पीडितकी बहिनीका अनुसार युवकको परिवारले बदला लिने कसम खाएको थियो।

बुधबार पीडित महिला उनै बहिनीलाई गहुँ दिन उनको घर आएकी थिइन्। त्यही समयमा केही मानिसले उनको पिछा गरेका थिए, जुन कुरा पीडित महिलालाई थाहा थिएन।

त्यसपछि बहिनीको घर अगाडि आएर तल आउँ भनेर फोन गर्दा अटोमा आएका केही मानिसले उनलाई जबरजस्ती हालेर लगेका थिए। महिलालाई पिछा गर्ने व्यक्तिहरुको हातमा डन्डा थियो, एक महिलाले साथमा कैची पनि बोकेकी थिइन्।

ती मानिसहरुले पीडित महिलाकी बहिनीको मोबाइल फोन खोसेर लगेका थिए, ताकि उनले प्रहरीमा उजुरी गर्न नसकून्।

‘अटोमा राख्नेबित्तिकै उनीहरुले मेरो दिदीको कपाल काट्न थाले। उनीहरुले मेरो दिदीलाई उनीहरुको घरभित्र लगे र ढोका बन्द गरे। त्यसपछि उनलाई धेरै कुटे र गलत काम गरे’, बहिनीले अगाडि भनिन्, ‘दिदीको छोरालाई पनि अपहरण गरिएको थियो, तर उ उनीहरुबाट छुट्यो र मैले अरु कसैको घरमा लुकाएर राखेँ, उसको ज्यानलाई पनि अहिले खतरा छ।’

उनले अगाडि भनिन्, ‘मेरी दिदीमाथि जब यो सब भयो, कोही पनि सहयोगको लागि आएनन्। डरले कोही पनि छिमेकी बचाउनको लागि आएनन्। जसोतसो प्रहरीसम्म यो खबर पुग्यो र प्रहरीले मेरो बहिनीलाई छुटायो।’

प्रहरीका अनुसार पक्राउ परेका ११ अभियुक्त अवैध मदिरा कारोबारसँग जोडिएका व्यक्तिहरु हुन्। बलात्कारको आरोप लागेकामध्ये एक किशोर पनि रहेका छन्।

पीडित महिलाको सन् २०१८ मा विवाह भएको थियो र उनी दिल्लीको आनन्द विहार क्षेत्रमा भाडाको घरमा आफ्नो ३ वर्षका छोरासँग बस्छिन्।

बहिनीका अनुसार हरेकपल्ट धम्की दिइँदा प्रहरीमा उजुरी गर्ने गरिएको थियो। प्रहरीले मिलापत्र गराएर पठाउने गर्थ्याे तर कसैलाई पीडकहरुले यति आत्मविश्वासका साथ आक्रमण गर्छन् होला भन्ने अनुमान थिएन।

यी दिदीबहिनीका ३९ वर्षका बुवा धेरै नै बिरामी छन्। पीडितकी आमाको सन् २०२० मा हृदयघातको कारण मृत्यु भइसकेको छ। त्यसपछि माइतीको जिम्मेवारी पनि पीडित महिलामा नै थियो।

बिरामी बुवाले भने, ‘मेरी छोरीको विवाहको समयसम्म कुनै पनि समस्या आएको थिएन। तर पछिल्लो एक वर्षदेखि उनलाई अर्कै किसिमको तनाव भइरहेको थियो। उनीहरु मलाई र मेरी छोरीलाई बारम्बार धम्काइरहन्थे, म ओछ्यानमा थला परेको मान्छेले के नै गर्न सक्थे र!’

यो घटनापछि पीडितका आफन्तले न्यायको माग गरेका छन्। ‘पीडितका हजुरबुवा हजुरआमाले भने, ‘यो देशमा कुनै पनि छोरीको साथमा यो दुर्घटना फेरि नहोस्।’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार यो घटनालाई ‘लाजमर्दो’ बताए र केन्द्र सरकारसँग प्रहरीले कडाभन्दा कडा कारबाही गर्नुपर्ने अपिल गरे।

दिल्ली महिला आयोगले यो घटनाको सिलसिलामा प्रहरीलाई अभियुक्तहरुको छिटो गिरफ्तारीको लागि निवेदन गरेको छ। प्रहरीले पनि छिटोभन्दा छिटो अभियुक्तलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ।

बिबिसी हिन्दीबाट साभार

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्