‘नेपाली सिमेन्ट उद्योगहरुमा ठूलो क्षति भएको छैन’

काठमाडौँ – नेपाल सिमेन्ट उत्पादक संघले तोकिएभन्दा बढी परिमाण उत्खनन् नगरेको स्पष्ट पार्दै जुन बखत जे जति परिमाण उत्खनन् गरेको सोही आधारमा तोकिएबमोजिमको रोयल्टी (शुल्क) बुझाउँदै आएको जनाएको छ।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योगलाई आवश्यक कच्चापदार्थ बढी उत्खनन् गरेको कारणले मात्र निराधार रुपमा उद्योग र उद्योगीहरुलाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाउनु निन्दनीय भएको बताएको हो।

‘प्रचलित नेपाल कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी कानुनबमोजिम लाग्ने राजस्व÷रोयल्टी भुक्तानी गरी राष्ट्र पुनर्निर्माणको विषम परिस्थितिमा उद्योगलाई आवश्यक कच्चापदार्थ बढी उत्खनन् गरेको कारणले मात्र निराधार रुपमा उद्योग र उद्योगीहरुलाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइएको सम्वन्धमा यस संघ सम्वन्धित सबै सरोकारवालाहरुमा सत्यतथ्य जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयमा नै देशलाई आत्मनिर्भर बनाई अर्बौंको आयात प्रतिस्थापन गर्न सफल हुनुको साथै निकट भविष्यमा नै अर्बौंको सिमेन्ट निर्यात गरी देशको व्यापार घाटामा उल्लेख्य कमि ल्याउन सक्षम भै सकेको उद्योगहरुमाथि तथ्यहीन रुपमा ठूलो क्षति भयो भन्ने आरोप लगाउने किसिमकोे क्रियाकलापले ठूलो आघात पर्न जाने र समग्र उद्योग तथा नयाँ लगानीकर्ताहरुमा समेत नकारात्मक प्रभाव पर्न जाने भएकोले उद्योगहरुलाई सरल र सहज वातावरण वनाइदिनु हुनका लागि सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं।’

संघले विगतका वर्षहरुमा भारतबाट सिमेन्ट र क्लिङ्करसमेत आयात हुँदै आइरहेकोमा स्वदेशी सिमेन्ट उद्योगीहरुको अथक प्रयासका वावजुद सिमेन्ट र क्लिङ्करमा आत्मनिर्भर भैसकेको जनाएको छ। वर्तमान अवस्थामा आयातलाई पूर्ण रुपमा विस्थापित गर्न स्वदेशी उद्योगहरु सक्षम भएको संघले दावी गरेको छ।

देशमा हाल करिब ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेकोमा क्लिङ्करमा आधारित सिमेन्ट उद्योगहरु करिब २१ वटा रहेका छन्। यी सबै उद्योगहरुमा कूल करिब २०० अर्बको स्वदेशी लगानी रहेको छ। साथै सिमेन्ट उद्योग र यससँग सम्बन्धित रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख जनाले रोजगारीसमेत प्राप्त गरिरहेको संघले जनाएको छ।

संघका अनुसार हाल स्वदेशमा स्थापित सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिब २५ मिलियन टन रहेको छ। कोभिड महामारीका कारण उद्योगहरुले आफ्नो उत्पादन क्षमताको करिब ३० प्रतिशतको हाराहारीमा मात्र उत्पादन गरिरहेको छन्। संघले वार्षिक करिब २ खर्व बराबरको सिमेन्ट भारत निर्यातको प्रचुर सम्भावना रहेको दावी गरेको छ।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्