सत्तारुढ दलहरुको बैठक दिउँसो ४ बजे पुनः बस्ने

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक दिउँसो ४ बजे पुनः बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो। थप छलफल गर्नुपर्ने भएकालेआजै दिउँसो ४ बजे पुनः बैठक बस्ने गरी बिहानको बैठक उठेको हो।

स्थानीय तहको निर्वाचनमात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भइरहेको छ।
बैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ। सोहीअनुसार निर्वाचन आयोगले सरकारलाई पटकपटक स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिँदै आएको छ।

स्थानीय तह निर्वाचनकै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।

शनिबार बिहान भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी भएका थिए। तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन्।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्ने गरी छलफल गर्दै आएका छन्।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्