युनिमोनी कतारबाट ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरु

काठमाडौँ – मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको ई–सेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीबीच रेमिट्यान्स् सम्झौता भएको छ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ वटा शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपालमा पैसा पठाउन सक्ने छन्।

युनिमोनीका शाखाबाट पैसा सीधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा ई–सेवा वालेटमा तत्काल रकम पठाउन सकिने कम्पनीले जनाएको छ।

त्यस्तै युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरि रहेका ई–सेवा मनी ट्रान्सफरका दसहजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ। साथै पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु ७७ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

सम्झौताबारे ई–सेवा मनी ट्रान्सफरका सिईओ अजेश कोइरालाले भने, ‘ई–सेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ। यसले कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ।’

युनिमोनी कतार कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरुका वित्तीय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को देश आवागमन गराउँदै आएको छ। त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ।

ई–सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। ई–सेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई–सेवा मनी ट्रान्सफर, देशभरका एक करोड दस लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्