जनावरमा तीव्र फैलिएकाे कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’ मानिसकाे लागि कति खतरनाक?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ को बारेमा अझ धेरै अध्ययन आवश्यक रहेको जनाएको छ।

चीनका अनुसन्धानकर्ताले अफ्रिकामा पत्ता लगाएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘नियोकोभ’ अहिले जनावरहरुमा तीव्र रुपमा फैलिरहेको छ।

जनावरमा तीव्र रुपमा फैलिरहेको यो भाइरस भविष्यमा मानिसको लागि पनि खतरनाक हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।

कोरोना भाइरस छुट्टाछुट्टै किसिमका भाइरसका समूहका हिस्सा हुन्, जसले सामान्य रुघाखोकीदेखि गम्भीर किसिमका स्वाशप्रश्वाससम्बन्धी समस्या पैदा गर्न सक्छन्।

विश्व स्वास्थ्य संगठनले आफूसँग कोरोना भाइरसको नयाँ भेरियन्टले पुर्‍याउन सक्ने खतराका बारेमा प्रारम्भिक जानकारी छ तर यो भाइरस मानिसका लागि खतरनाक छ अथवा छैन भन्ने कुराको बारेमा अझै अध्ययन आवश्यक भएकाे जनाएकाे छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा आउने सबै संक्रामक रोगहरुको ७५ प्रतिशतभन्दा धेरै स्रोत जनावर हुन्। खासगरी जंगली जनावर यस्ता संक्रामक रोगका ठूला स्रोत हुन्। कोरोना भाइरस जनावरमा हुने भाइरस हो। यसमा चमेरो पनि पर्छ। चमेरो अरु धेरै किसिमको भाइरसको प्राकृतिक भण्डार हो।

अध्ययनका अनुसार नियोकोभ कोभिड १९ भाइरस जस्तो मानव कोषसँग जोडिन सक्छ। ‘नियोकोभिडमा एक म्यूटेशनपछि मानिसको लागि खतरनाक बन्न सक्छ’, विश्व स्वास्थ्य संगठनले अगाडि उल्लेख गरेको छ, ‘यद्यपि यो अध्ययनको अहिलेसम्म अन्तिम समीक्षा आइसकेको छैन।’

माघ १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्