सन् २०२२ जनवरी २३ देखि २९ अर्थात् ०७८ माघ ९ देखि १५ गतेसम्म

ओमिक्रोनको लहर: संक्रमण दर स्थीर तर मृत्युदर बढ्दो

कोरोना प्यान्डेमिकका क्रममा ओमिक्रोन युग चलिरहेको छ। सन् २०२१ को नोभेम्बर दोस्रो सातातिर दक्षिण अफ्रिका र बोचवानाको नमूना परीक्षण गर्दा नयाँ कोरोना भाइरस हो कि भन्ने शंका लागी डब्लुएचओलाई सूचित गरिएको थियो।

डब्लुएचओले फेरि ती नमुना परीक्षण गरी त्यो कोरोना भाइरस नयाँ हो भन्ने सुनिश्चित गरी नोभेम्बर २६ मा कोरोना भाइरसको नयाँ भेरियन्ट उत्पत्ति भएको कुरा सार्वजनिक गर्‍यो र त्यसको नाम ओमिक्रोन (द्य १.१.५२९) राखिदियो।

त्यसपछि ओमिक्रोन अफ्रिकाबाट युरोप, अमेरिका हुँदै हाल एसिया र विश्वभरि फैलिसकेको छ।

आवर वर्ल्ड इन डाटाका अनुसार पछिल्लो समय विश्वका धेरै देशमा ओमिक्रोन फैलिसकेको छ। यसअनुसार जापान र सेनेगलमा १००%, बेलायत, दक्षिण अफ्रिका र बोचवानामा ९९%, अमेरिकामा ९८%, अस्ट्रेलियामा ९७%, इन्डोनेसियामा ९६%, भारत, पाकिस्तान, बंगलादेश, स्पेन, कोलम्बिया आदि देशमा ९४%, ब्राजिल, अर्जेन्टिना, थाईल्यान्ड , फ्रान्स, नर्वे, इटाली, क्यानाडा, मेक्सिको आदि देशमा ९०–९२% ओमिक्रोन संक्रमण देखिएको छ।

त्यस्तै, श्रीलंकामा ८७%, माल्दिभ्समा ५६% भेटिएको छ भने नेपालको स्पष्ट तथ्यांक नभेटिएको कुरा उल्लेख छ। उल्लिखितबाहेक एसिया, युरोप र दक्षिण अमेरिकाका थुप्रै देशमा ओमिक्रोन देखापरेको छ।

यसरी पछिल्लो समय ओमिक्रोनका कारण विश्वमा नयाँ लहर सुरु भएको छ र हाल पनि यो निरन्तर मात्र नभई हालसम्मकै सबैभन्दा ठूलो लहर बनिसकेको छ।

सन् २०२१ को अप्रिल–मेतिरको अघिल्लो प्यान्डेमिक लहरका बेला विश्वमा दैनिक अधिकतम ८३०००० जति नयाँ संक्रमण देखा परेकामा हाल यो संख्या ३७००००० नाघिसकेको छ। पहिलाका लहरले एकपटकमा विश्वका कुनै एक–दुई भौगोलिक क्षेत्रलाई मात्रै आफ्नो निशाना बनाउँथे भने हालको लहरले युरोप, अमेरिका, दक्षिणपूर्वी एसिया, अफ्रिका, अस्ट्रेलियालगायत पृथ्वीको सम्पूर्ण भूभागलाई ओगटेको छ। त्यति मात्र नभई सबैजसो भूभागमा पछिल्लो लहर हालसम्मकै सबैभन्दा ठूलो लहरको रूपमा देखिएको छ। तीमध्ये सबैभन्दा धेरै प्रभावित क्षेत्र अमेरिका, युरोप र अस्ट्रेलिया रहे।

अस्ट्रेलियामा अघिल्ला लहरमा दैनिक २०००–२५०० सम्म देखा परेको दैनिक संक्रमण वर्तमान अवस्थामा १५०००० नाघेको छ। त्यहाँ दैनिक मृत्युले पनि यसपटक कीर्तिमान बनाएको छ।

अघिल्ला लहरमा अधिकतम २०–२५ जना मात्रै दैनिक मृत्यु हुन्थ्यो भने हाल यो संख्या १०० नाघेको छ। युरोप र अमेरिकामा भने अघिल्ला लहरको दाँजोमा दैनिक मृत्यु घटेको देखिएको छ।

वर्तमान लहरका बेला मृत्युदर कम भएको देखिए पनि केही देशमा दैनिक मृत्यु धेरै देखिएको छ। तीमध्ये एक हो रसिया। रसिया अर्थात् रुसमा पनि पछिल्लो अवस्थामा हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर चलिरहेको छ जुन अघिल्लो लहरभन्दा दोब्बर ठूलो भइसकेको छ। त्यहाँ दैनिक मृत्यु भने पहिलाको दाँजोमा कम भए पनि दैनिक मृत्यु त्यहाँ करिब ८ महिनादेखि निरन्तर ६००–१००० देखा परिरहेको छ। त्यहाँ हालसम्म ३२८००० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने त्यहाँको समग्र कोरोना मृत्यु दर करिब २.९% छ जुन अमेरिकाको १.२%, ब्राजिलको २.५%, बेलायतको ०.९५%, इटालीको १.४%, भारतको १.२%, पाकिस्तानको २.१%, बंगलादेशको १.६% र नेपालको १.२% जति छ।

यसरी विश्वभरि फेरि एक–पटक आतंक मच्चाइरहेको कोरोनाको वर्तमान प्यान्डेमिक लहर केही स्थिर देखिएको छ। विश्वमा अति तीव्र गतिले बढेको वर्तमान लहर एक साताभन्दा लामो समयदेखि केही स्थिर देखिन्छ। त्यस्तै, दक्षिण एसियामा पनि एक हप्तादेखि जम्मा दैनिक संक्रमण केही स्थिर देखिन्छ।

नेपालमा पनि दैनिक संक्रमण र संक्रमण दर एक हप्तादेखि केही स्थिर देखिन्छ। त्यस अर्थमा वर्तमान प्यान्डेमिक लहर स्थिर बिन्दु अर्थात् प्लेटु फेजमा पुगेको हो कि भन्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतार चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपाल र दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौँ।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बनिरहेको छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ जनवरी १२ देखि २६,को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न.१ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा तीव्र गतिमा बढिरहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण गत हप्ता केही स्थिर देखियो। यद्यपि, पछिल्लो दैनिक संक्रमण ३ लाखभन्दा माथि नै छ। तर, दैनिक मृत्यु भने केही बढ्दै गएको देखियो जुन दुई साताअघि ४०० जति रहेकोमा हाल ७०० नाघेको छ।

चित्र न.२ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत साता नेपाललगायत भारत, पाकिस्तान र श्रीलंकामा दैनिक संक्रमण केही स्थिर देखियो भने माल्दिभ्स र बंगलादेशमा दैनिक संक्रमण बढ्ने क्रम जारी नै रहेको देखियो।

त्यस्तै, चित्र न.३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दैनिक मृत्यु दक्षिण एसियाका सबै देशमा गत साता केही बढ्दै गएको देखियो।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दरमा पनि केही स्थिरता देखियो।

तर, गत हप्ता पनि नेपालको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने श्रीलंकाको सबैभन्दा निम्न। अमेरिकामा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखियो यद्यपि यो अझै निकै उच्च रह्यो। बेलायतमा पनि दैनिक संक्रमण दरमा केही सुधार देखियो भने जापानको संक्रमण दर बढ्दै गएको देखियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जनवरी २३ देखि २९ अर्थात् ०७८ साल माघ ९ देखि १५ गतेको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, माघ १५ गते शनिबारसम्म, देशभरि जम्मा ४३४६० जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९४७३९२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ५५५९२ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत साता ५२ रह्यो जुन दुई साताअघि ३४ थियो। योसमेत नेपालको जम्मा कोरोना मृत्यु ११७०३ पुगेको छ। गत साता जम्मा १०१३११ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ११६६१३ थियो।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ५७.७५% देखिएको छ जुन दुई हप्ताअघि ६६.६९% थियो। अर्थात् गत हप्ता देशको कुल दैनिक संक्रमणमध्ये ५७.७५% मात्रै काठमाडौँ उपत्यकामा भेटिएको थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.६ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन तीव्र गतिमा बढ्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ३२.८५देखि अधिकतम ५२.१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४२.०८ रह्यो जुन दुई हप्ताअघि ४७.२१% थियो। नेपालमा गत हप्ता औसत साप्ताहिक संक्रमण दरमा केही सुधार देखियो।

संक्षेपमा, वर्तमान ओमिक्रोन प्यान्डेमिक लहर विगतको भन्दा निकै व्यापक भई पृथ्वीको सबैजसो भूभागमा तीव्र रूपमा फैलिएको पाइएको छ। गत हप्ता, ०७८ साल माघ ९ देखि १५, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण दर केही स्थिर रही घटेको पाइयो।

यद्यपि, जम्मा परीक्षण पनि करिब १५००० ले कम गरिएको थियो। दुई साताअघि नेपालको प्यान्डेमिक इतिहासमा दैनिक नयाँ संक्रमण दर हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो।

तर, साप्ताहिक मृत्यु भने दुई हप्ताअघिको तुलनामा गत हप्ता निकै बढेको पाइयो। त्यस्तै, सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण गत हप्ता केही घटेको पाइयो जसले पछिल्लो समय कोरोना संक्रमण काठमाडौँ उपत्यकाबाहेक अन्यत्र पनि केही बढेको संकेत गर्छ।

त्यस्तै, गत हप्ता दक्षिण एसियामा समग्र रूपमा दैनिक संक्रमण केही स्थिर रहेको पाइयो तर दैनिक मृत्यु भने केही बढेको देखियो। युरोप र अमेरिकामा पनि गत हप्ता नयाँ प्यान्डेमिक लहर केही स्थिर रहेको पाइयो। यी सबै तथ्यले हालको ओमिक्रोन प्यान्डेमिक लहर विश्व, दक्षिण एसिया र नेपालमा पनि केही थिर अवस्था अर्थात् प्लेटु फेजमा पुगेको संकेत गर्छ। यदि, यही क्रम केही दिन कायमै रहे वर्तमान लहर केही साताभित्र सामान्य बन्दै जाने अनुमान गर्न सकिन्छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ, कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु बुद्धिमानी हुनेछ।

माघ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्