रोजगारसम्बन्धी समस्याबारे अब २४ घन्टा नै कल सेन्टरमा उजुरी!

फाइल तस्बिर

काठमाडौँ- सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) बाट अबदेखि २४ घण्टा नै सेवा दिने भएको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै रहेको कल सेन्टरको २४ घण्टा विस्तार भएको सेवाको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।

कामका लागि देशबाहिर जाने र जान चाहने नेपालीका समस्याको सुनुवाइका लागि फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिन्छ।

कल सेन्टरबाट वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवम् कार्यक्रमहरू जानकारी लिन, सुझाव दिन वा गुनासो गर्न सकिनेछ।

कल सेन्टरमा फोन गर्न ११४१ नम्बर डायल गर्नुपर्नेछ। एनटिसी र एनसेल दुवै प्रयोगकर्ताहरुका लागि यो सेवा निशुल्क हुनेछ।

२०७५ सालमा सुरु भएको कल सेन्टरको सेवा खासै प्रभावकारी नभएको गुनासो सुनिने गरेको थियो।

 

माघ १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्