अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारीहरूद्धारा गृहमन्त्रीसँग माग

फाइल तस्बिर ।

काठमाडौःं–कर्मचारीलाई अभद्र व्यवहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल निजामती कर्मचारी युनियनले माग गरेको छ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले कर्मचारीलाई कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि कारबाही गर्न माग गरेका हुन्। देशका विभिन्न भागमा कर्मचारीहरूलाई अभद्र व्यवहार हुन थालेपनि कर्मचारी संगठनले सुरक्षा तथा कारर्वाहीको माग अगाडि सारेको हो।

कर्मचारीहरूलाई भ्रष्टलगायत आरोप लगाउँदै देशका विभिन्न ठाउँमा मोसो दल्नेजस्ता कार्य भइरहेकोमा युनियनले विरोध गरेको छ।

गृहमन्त्री खाणले कानुनविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन्। घटनाहरूबारे अनुसन्धान जारी रहेको र दोषी पहिचान गरेर कारबाही गरिने उनको भनाइ थियो।

उनले राष्ट्रसेवक कर्मचारीलाई मानमर्दन गर्ने काम कसैबाट हुन नहुने पनि बताए। महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लामा कर्मचारीमाथि मोसो लगाउनेजस्ता कार्य भएका थिए।

डिभिजन वन कार्यालय कैलालीमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि अमानवीय व्यवहार गर्नेलाई पनि कारबाही गर्न उनीहरूले माग गरेका छन्।

माघ १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्