डाक्टर देखेर डाक्टर बन्ने अठोट लिएका युरोलोजिस्ट डा. खड्गीले किन बनाए आफ्नै इन्स्टिच्यूट? (भिडियो)

डा. सञ्जय खड्गी।

काठमाडौँ – उनी सानै थिए, लामो समयसम्म ज्वरो आयो जसले गर्दा उनकी आमा उनलाई पटक–पटक अस्पताल लग्थिन्।

उनी जति पटक अस्पताल जान्थे, आफूलाई चेकजाँच गर्ने डाक्टरलाई देख्थे। अनि उनको मनमा उत्पन्न हुन्थ्यो, डाक्टर बन्ने सपना। आमालाई उनी भन्थे, ‘माँ म पनि यस्तै डाक्टर हुने है।’

उनको कुरा सुनेर आमा उनलाई हौस्याउँथिन्। अनि उनी आफ्नो सपना पुरा गर्न मेहनत गरेर पढ्थे। र, सन् १९९८ मा आफ्नो सपना पूरा गरेरे छोडे, ललितपुरका कन्सल्ट्यान्ट युरोलोजिष्ट डा सञ्जय खड्गीले।

उमेरले उनी ५० कटिसकेका छन्। तर उनको जोस जाँगर देखेर लाग्दैन उनी ५३ वर्षका हुन्। भर्खरै पास आउट भएर उपचारमा खटिएका नयाँ चिकित्सकको भन्दा कति पनि कम छैन उनको जोस। डा. खड्गी विगत २४ वर्षदेखि निरन्तर बिरामीको सेवामा खटिरहेका छन्। डाक्टरी पेशामा रमाइरहेका छन्, उनी।

आफ्नो सपना पूरा गर्न उनले मेहनत गर्दै गए। २०४१ सालमा जाउलाखेलको आदर्श विद्या मन्दिरबाट एसएलसी दिए। एसलसीपछि उनी भारत गए। भारतको पुणामा आईएस्सी गरे। त्यसपछि नेपाल फर्किए।

डा. खड्गीलाई आईएस्सी गरेलगत्तै चिकित्साशास्त्र पढ्न मन थियो। तर, सोचे जस्तो भएन। र, त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्न भर्ना भए। बीएस्सी पास गरेपछि सन् १९९१ मा उनले रसियामा चिकित्साशास्त्रसम्बन्धी ७ वर्षको कोर्स गरे।

युरोलोजिष्टको यात्रा

रसियामा एमडी गरेपछि उनी मेडिकल अफिसर भएर वीर अस्पतालमा काम सुरु गरे। त्यहाँ चार वर्ष काम गर्ने क्रममा विभिन्न विभागमा रोटेसन हुन्थ्यो। अस्पतालको युरोलोजी विभागको अवस्था एकदमै नाजुक थियो।

त्यतिबेला पाको उमेरका प्रोस्टेटका धेरैजसो बिरामीहरु शरीरमा पाइप झुण्ड्याएर हिँडेको उनले देखे। ती बिरामीलाई देख्दा डा. खड्गीको मनमा खड्किरहन्थ्यो, ‘उनीहरुका लागि केही गर्न सकिन्छ कि?’

उनको ध्यान युरोलोजीतिर खिचियो। यसकै लागि उनले सोधखोज गर्न थाले। कहाँ पढाइ हुन्छ? के हुन्छ? अनुसन्धान गर्न थाले। र, सन् २००२ मा चीनमा युरोजोलीसम्बन्धी पढाइ सुरु गरे।

वीर अस्पतालका बिरामी देखेर युरोलोजिष्ट बन्न प्रेरणा मिलेको थियो उनलाई। चीनमा पढाइ पुरा भएपछि उनी नेपाल फर्किए। थापाथलीस्थित नर्भिक अस्पतालमा काम सुरु गरे।

डा. खड्गीले चीनमा मिनी पीसीएनएल प्रविधि (सानो प्वाल बनाएर मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि) को विकास गरेका एक व्यक्तिलाई भेटेका थिए। त्यति बेला मिनी पीसीएनएल प्रविधि संसारभर त्यति धेरै फैलिसकेको थिएन। उनले नेपालमा मिनी पीसीएनएलको स्कोप राम्रो देखे। उक्त व्यक्तिलाई भेटेपछि ‘भविष्य यही हो’ भन्ने डा. खड्गीलाई लाग्यो।

सरकारी अस्पतालमा यो प्रविधि भित्र्याउनका लागि झन्झटिलो हुन सक्थ्यो। लामो समय लाग्न सक्थ्यो। जसका कारण डा. खड्गीले सरकारीमा भन्दा पनि निजीमा धेरै सहज देखे। र, नर्भिक अस्पतालमा प्रस्ताव राखे। नर्भिकले उनको प्रस्ताव स्वीकार गर्‍यो।

उनले चिनियाँ डाक्टरहरुको टिमलाई नर्भिक अस्पताल बोलाए। यता उनले बिरामीको जोहो गर्न थाले। बिरामी फेला परेपछि चीनबाट टिम आयो र उनीहरुको मातहतमा डा. खड्गीले डेढ वर्ष जति काम गरे। र, सन् २००५ मा मिनी पीसीएनएल प्रविधिमार्फत नर्भिक अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया भयो।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुनै पनि नयाँ प्रविधि भित्र्याउँदा विदेशी विशेषज्ञको सहकार्यमा कम्तिमा पनि १० वटा शल्यक्रिया गर्नुपर्ने हुन्छ। सोहीअनुसार उनले पनि त्यसै गरे। नेपालमा मिनी पीसीएनएल प्रविधि भित्र्याउने डा खड्गी पहिलो चिकित्सक हुन्। त्यो बेला नेपालमा मात्र होइन यो प्रविधिलाई संसारभर नै फैलाउनु पर्छ भन्ने सोचका साथ उनी अगाडि बढे।

नेपालमा यो प्रविधिमार्फत उपचार भइरहँदा भारतमा समेत यसको अभ्यास नभएको उनी बताउँछन्। उनले भने, ‘सन् २००५ मा हामीले यो प्रविधि प्रयोग गर्दा भारतमा यसको अभ्यास भएको थिएन। नेपालमा सुरु गर्दा यसलाई संसारभर फैलाउनुपर्छ भन्ने सोच मैले बनाएको थिएँ। जसले गर्दा म यही प्रविधिमै लागिरहेँ।’

के हो मिनी पीसीएनएल?

मिनी पीसीएनएल सन् १९७६ मा स्वीडेनका डाक्टरले विकास गरेका हुन्। मिनी पीसीएनएल मिर्गौला र मूत्र प्रणालीको ठूलो र जटिल पत्थरीको उपचारका लागि अत्यन्तै उपयुक्त तथा उत्कृष्ट प्रविधि मानिएको छ। अन्य शल्यक्रियाको तुलनामा यो प्रविधि सुरक्षित, भरपर्दो, विनाठूलो चिरफार उपचार गर्न सकिन्छ।

यो प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीमा रगतको क्षति अत्यन्तै न्यून हुने, दुखाई कम हुने, घाउ चाँडै निको हुने, बिरामीको अस्पताल बसाई पनि निकै कम हुने डा खड्गी बताउँछन्। सुरुसुरुमा यो शल्यक्रिया गर्न समय लाग्ने गरे पनि अहिले भने आधा घण्टासम्म लाग्ने उनले जानकारी दिए। ‘तर कुनै पत्थरी ठूलो छ भने तीन घण्टासम्म लाग्न सक्छ’, डा. खड्गीले भने, ‘केसअनुसार शल्यक्रिया गर्न समय लाग्न सक्छ।’

काम गर्दाको भिन्नता

नेपालमा मिनी पीसीएनएल सुरु भएपछि औँलामा गन्न सकिने चिकित्सकले यो प्रविधिको अभ्यास गरेका थिए। दैनिक १० जनासम्म बिरामीलाई यो प्रविधिमार्फत उपचार दिएका थिए, डा. खड्गीले पनि। तर, अहिले अवस्थामा परिर्वतन भइसकेको छ। धेरैले सिकिसकेका छन्, यो प्रविधिबाट उपचार गर्न। जसले गर्दा सहजै रुपमा बिरामीले उपचार पाइरहेका छन्।

मिनी पीसीएनएल प्रविधि मिर्गौलाको पत्थरी भएका बिरामीका लागि उपयुक्त उपचार मानिन्छ। शल्यक्रिया गरेको दुईदेखि तीन दिनमै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ। अन्यथा चिरेर शल्यक्रिया गर्नुपर्थ्यो। एउटा सानो पत्थरी निकाल्नका लागि धेरै ठूलो चिनुपर्ने उनी बताउँछन्। घाउ ठूलो हुने भएका कारण बिरामीलाई गाह्रो त हुने नै भयो। त्यसका साथै भन्झटिलो पनि। तर मिनी पीसीएनएल टेक्निकमा भने ५ एमएमको मात्रै घाउ हुने गरेको डा. खड्गी बताउँछन् जसले गर्दा बिरामी चाँडोभन्दा चाँडो निको हुने गर्छन्।

गार्‍हो डाक्टरी पेशा

एउटा असल चिकित्सक बन्न सजिलो छैन। चिकित्सक त्यसमा पनि अझै निजी अस्पतालमा काम गर्न धेरै गाह्रो हुने उनी बताउँछन्।

‘सिनियरहरुबाट हामीले कुनै आशा नराखे पनि हुन्छ। प्रतिस्पर्धाको भावना धेरै हुन्छ। फेरि एक्लै काम गर्नु र टिममा काम गर्नुको भिन्नता धेरै हुन्छ’, उनले भने, ‘म वीर अस्पतालमा मेडिकल अफिसर भएर अरुको अण्डरमा काम गरेको थिएँ। त्यति बेला मलाई काम गर्न गार्‍हो थिएन।’

तर सन् २००५ पछि डा. खड्गीले एक्लै काम गर्दा कहिल्यै दिनरात भनेनन्। राति पनि उनी सधैँ तयारी अवस्थामै बसे किनभने मिर्गौलाको शल्यक्रिया गरेपछि रक्तश्राब हुने सम्भावना धेरै रहन्छ। ‘हामीले रहेक किसिमको समस्या भोगेका छौँ र अहिले पनि भोगिरहेका छौँ। हुन त हाम्रो काम यस्तै हो। कतिलाई खुसी बनाउन सकिन्छ भने कतिलाई सकिँदैन’, उनले थपे।

बिरामीको सफल उपचार सँगसँगै मिनी पीसीएनएललाई संसारभर फैलाउनु नै डा. खड्गीको मुख्य उद्देश्य रहेको छ। उनले सोचेअनुसार अहिले संसारका धेरै मानिसहरु यो प्रविधिका बारेमा जानकार भइसकेका छन्।

लाइभ सर्जरीको अनुभव

डा. खड्गीले अहिलेसम्ममा दुई दर्जनभन्दा धेरै विदेशमा लाइभ सर्जरी गरेका छन्। विदेशी मुलुकहरुमा गएर लाइभ सर्जरी गर्ने उनी पहिलो नेपाली डाक्टर हुन्। त्यो बेला पक्कै पनि गाह्रो भएको थियो। तर उनले त्यो गाह्रोलाई अवसरको रुपमा लिए। र, सफल पनि भए।

उनले गरेको लाइभ सर्जरी करिब पाँच सय जना युरोलोजिष्टहरुले हेरेका थिए। ‘त्यो बेला मलाई मुख खोल्न डर लाग्थ्यो’, उनले भने। केही गलत शब्द बोलिन्छ कि भन्ने डरले उनी सजग भएरमात्रै बोल्थे। अरु दर्शक हुन्थे। उनीहरुले सोधेको प्रश्नको उत्तर दिनुका साथै सर्जरी पनि सँगसँगै गर्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन्।

‘पहिलो लाइभ सर्जरी एकदमै गाह्रो थियो। एक्लै सर्जरी गर्नु र दर्शकका अगाडि गर्नुमा धेरै फरक हुन्छ। तर अहिले मलाई धेरै सजिलो भएको छ’, मुस्कानसहित उनले भने।

उनले काम गर्दा उनलाई कति बेला के चाहिन्छ डा. खड्गीका साथीहरुलाई थाहा हुन्थ्यो। र, बाहिरको सेटअपमा साथी लिएर जान सम्भव पनि थिएन। सर्जनको आ–आफ्नो तरिका हुन्छ। जसले गर्दा एक–अर्कासँग तालमेल नमिल्न सक्छ। ‘आफ्नो सेन्टर र लाइभ सर्जरी गर्दा सुरुमा गाह्रो भयो। कति बेला कसले के सोध्छ के भन्ने हुन्थ्यो। तर अहिले बानी भयो’, उनले भने।

लाइभ सर्जरीकाे पहिलो प्रस्ताव

भारतका डा. एसके पार्क जो पीसीएनएल प्रविधिका विशेषज्ञ हुन्। उनले प्रत्येक दुई वर्षमा लाइभ सर्जरीका इभेन्ट आयोजना गर्दै आएका छन्। डा. खड्गी र डा पार्कको सन् २००६ मा चिनजान भएको थियो। त्यो बेला डा. खड्गीले ‘कसरी सर्जरी गरिन्छ मिनी पीसीएनएल प्रविधिमा’ भनेर केही फोटोहरुसहित आफ्नो प्रस्तुति दिएका थिए।

त्यसपछि सन् २००८ मा भारतको इभेन्टमा लाइभ सर्जरी गरिदिनका लागि प्रस्ताव आयो। डा. खड्गीले आफ्ना चीनका गुरुलाई बोलाए। र, सँगै लाइभ सर्जरी गरे। भारतबाट सुरु भएको उनको लाइभ सर्जरीको यात्रा अहिले विश्वका विभिन्न देशहरुमा चलिरहेको छ।

अनि जन्मियो खड्गी इन्स्टिच्युट

चीनमा पढाइ सकेपछि उनले सन् २००५ देख २०१० सम्म नर्भिक अस्पतालमा काम गरे। त्यसपछि उनले भेनस अस्पतालमा काम गरे। भेनस अस्पतालमा काम गर्दै गरेका उनलाई आफैले केही गर्नुपर्छ भन्ने लाग्यो। र, सन् २०१३ मा साथीहरुसँग मिलेर निदान अस्पताल सञ्चालनमा ल्याए। तर उनले सोचे जस्तो हुन सकेन। उनी निदानबाट छुटिए र वयोधा अस्पतालमा काम सुरु गरे। त्यहाँ पनि उनी लामो समयसम्म बस्न सकेनन्। र, फेरि शुभेक्षा अस्पताल पुगे।

उनी एकपछि अर्को अस्पताल जागिरकै लागि चक्कर लगाइरहेका थिए। अरुकोमा काम गरेर चित्त बुझाउने खाल उनी होइनन्। उनलाई आफ्नो हिसाबले काम गर्न मन थियो। खुला हृदयले बिरामीको सेवा गर्ने मन थियो।

अन्ततः उनले १२ करोडको लागतमा ललितपुरको कुपण्डोलमा आरुस लाइफस्टाइल हस्पिटलसँगको सहकार्यमा २५ शय्याको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीको स्थापना गरे। उनले भने, ‘यो फिल्डमा काम गर्दै जाँदा मलाई च्यारिटी सर्भिस दिन मन थियो। तर अरुको अन्डरमा बसेर यो सम्भव थिएन। बिरामीलाई जे गर्दा राम्रो हुन्छ, त्यो गर्न अन्त पाइँदैन तर आफ्नोमा पाइन्छ।’

इन्स्टिच्युटले सुरुवाती चरणमै सरकारी अस्पतालसरह दिनको चार जना विपन्न बिरामीलाई सेवा दिँदै आएको छ। उपचारका लागि बिरामीले वडाको सिफारिस लिएर आउनुपर्ने डा. खड्गीले बताए। निजी क्षेत्रबाट सञ्चालित विश्वस्तरीय सेवा दिने इन्स्टिच्युट भए पनि यसको सेवा गरिबको पहुँचमा समेत पुगोस् भन्ने उद्देश्य रहेको डा. खड्गी स्पष्ट पार्छन्। अति विपन्न परिवारको बिरामी उपचारका लागि अस्पताल पुग्दा पैसाकै अभावमा घर फर्किनु नपरोस् भन्ने हेतुले इन्स्टिच्युटमा यस्तो सुविधा दिँदै आएको उनले बताए।

इन्स्टिच्युटमा मुत्र प्रणाली तथा मिर्गौलाको पत्थरीका बिरामीको उपचार हुँदै आएको छ। जहाँ मुत्र प्रणालीसँग सम्बन्धित रोगहरु युआरएसएल, आरआईआरएस, मिनि पीसीएनएल जस्ता प्रविधिबाट विनाठूलो चिरफार उपचार गरिन्छ।

सेवा प्रदान गर्नका लागि इन्स्टिच्युटमा प्रविधिमैत्री हुनुका साथै अत्याधुनिक उपकरणको प्रयोग गरिने डा. खड्गीले बताए। उनले भने, ‘यहाँ प्रयोग भइरहेका उपकरण तथा प्रविधि युएसए, युके जस्ता विकसित देशहरुमा प्रयोग गर्ने गरेका उपकरण छन्। सबै विदेशबाट ल्याइएको हो।’

लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया, वाइपोलार शल्यक्रिया, ल्याप्रोस्कोपिक शल्यक्रियाहरुसमेत गर्ने इन्स्टिच्युटको योजना रहेको उनले बताए।

इन्स्टिच्युटमा दायाँ र बायाँ मिर्गौलाको लागि दुई वटा अप्रेसन थिएटर छन्, रुद्र थिएटर र लक्ष्मी थिएटर। रुद्र थिएटर जहाँ दायाँ मिर्गौलाको शल्यक्रिया गर्ने गरिन्छ। उक्त थिएटरलाई उनले आफ्नो बुबाको नाम दिएका छन्। त्यस्तै लक्ष्मी थिएटरमा बायाँ मिर्गौलाको शल्यक्रिया गर्ने गरिन्छ। उक्त थिएटरलाई उनले आमाको नाम दिएका हुन्।

इन्स्टिच्युटमा अहिले ६२ जना कर्मचारी रहेको डा. खड्गीले बताए। खड्गी इन्स्टिच्युटमा विभिन्न देशहरुबाट चिकित्सकहरु तालिमका लागि समेत आउने गरेको उनी बताउँछन्।

परिवारको गुनासो

उनको पहिलो प्राथमिकता भनेको बिरामी हो। बिरामीलाई दिएर बचेको समय उनले परिवारलाई दिँदै आएका छन्। समय–समयमा उनलाई दुई छोरी र श्रीमतीले आफूलाई वास्ता नगरेको गुनासो गरिरहन्छन्। ‘तर उनीहरुलाई अब बानी भइसक्यो’, उनले मुस्कुराउँदै भने।

बिरामीको उपचारमा खुसी

‘बिरामीलाई शल्यक्रिया गर्दा संसार भुलिन्छ। बिरामीलाई उपचार गरिरहेको बेला जस्तो आनन्द मलाई अरु केही कुराले पनि दिँदैन’, उनले भने। त्यो बेला ध्यान बिरामीतिर मात्रै केन्द्रित हुने उनले बताए।

काम गर्दाको अप्ठेरो क्षण

बिरामीलाई गाह्रो भइरहँदा एउटा डाक्टरका लागि त्योभन्दा नरमाइलो क्षण अरु के हुन सक्ला र? शत प्रतिशत भन्ने केही कुरामा पनि छैन। तर कहिलेकाहीं बिरामीका आफन्तले त्यो कुरा बुझ्दैनन्। बिरामीलाई गाह्रो होस् भनेर आफूहरुले कहिल्यै पनि उपचार नगर्ने उनले बताए। उनले भने, ‘बिरामी राम्रो भएर घर फर्कियोस्, हाम्रो लक्ष्य नै यही हुन्छ।’

नर्भिक अस्पतालमा भएको एउटा घटनालाई उनले अझै पनि बिर्सन सकेका छैनन्। शल्यक्रियापछि फोक्सोमा समस्या भएर बिरामीको मृत्यु भएको थियो। अस्पताल तोडफेड भयो। डाक्टरहरुलाई घेराबन्दी गरियो।

उनले भने, ‘त्यो क्षण सम्झिँदा अहिले पनि नराम्रो लाग्छ। हामी सधैँ कमभन्दा कम बिरामीलाई गाह्रो होस् भनेर उपचार गरिरहेका हुन्छौँ। मेहनत गर्दागर्दै पनि बिरामीलाई गुमाउनु पर्छ। त्यो कुरा बिरामीका आफन्तले बुझ्नुपर्छ।’

माघ २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्