नामसारी र नाता प्रमाणित गर्न दुई लाख रुपैयाँ घुस माग्ने वडा सदस्यमाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं:– काठमाडौं महानगरपालिका वडा नं १४ का वडासदस्यमाथि सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालतपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि दुई लाख रूपैयाँ घुस लिएको आरोप छ।

सोही सूचनाको आधारमा अनुसन्धानमा खटिएको आयोगको टोलीले महर्जनलाई नियन्त्रणमा लिएको हो। उनले सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिस गरिदिन्छु भन्दै दुई लाख रूपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दावी छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा महर्जनलाई बिगो दुई लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।

माघ २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्