कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (जनवरी ३० देखि फेब्रुअरी ५ सम्म)

किन घट्दै छ ओमिक्रोनको लहर?

वर्तमान ओमिक्रोन प्रकोपको प्यान्डेमिक लहरले विश्वलाई आक्रान्त पार्ने क्रममा पछिल्लो समय यो केही स्थिर रहेको देखिन्छ।

विश्वमा सन् २०२१ को डिसेम्बर अन्तिम सातातिर सुरु भएको ओमिक्रोन लहर सुरुमा अति तीव्र बढ्दै गई एक महिनाभित्रै उच्च बिन्दुमा पुग्यो।

करिब दुई सातादेखि यो केही स्थिर देखिन थालेको छ।

त्यस्तै, विश्वमा मात्र होइन दक्षिण एसियामा पनि ओमिक्रोन लहरको रुप उस्तै देखिन्छ। अमेरिका, युरोप र दक्षिण एसियामा वर्तमान लहर समानान्तर रूपले अघि बढ्दै गएको देखिन्छ।

दक्षिण एसियामा पनि वर्तमान लहर स्थिर रूपमा रही केही घट्न लागेको देखिएको छ। समग्रमा विश्व र दक्षिण एसियामा वर्तमान लहर केही स्थिर देखिए पनि यसको रुप भौगोलिक क्षेत्र र देशअनुसार फरक–फरक देखिएको छ।

अमेरिकामा माथि उल्लेख गरिएजस्तै यो लहर डिसेम्बर अन्त्यतिर सुरु भई हाल केही स्थिर देखिएको छ तर त्यहाँको दैनिक संक्रमण निकै अस्थिर देखिन्छ।

युरोपमा यो लहर सन् २०२१ को अक्टोबरको सुरुतिरबाटै सुस्त बढ्दै गई डिसेम्बरको तेस्रो सातातिरबाट यसले तीव्र रुप लिएको थियो।

तर जे भए पनि यसले विश्वलगायत थुप्रै देशमा नयाँ र हालसम्मकै सबैभन्दा ठूलो लहर सिर्जना गरिदिएको छ। समग्रमा यस लहरले दैनिक संक्रमण संख्याको हिसाबले विश्वमा हालसम्मकै सबैभन्दा ठूलो लहर मात्र होइन विगतको भन्दा झन्डै ४ गुणा ठूलो लहरको सिर्जना गरिदियो।

ओमिक्रोन प्रकोपले अमेरिकामा करिब ३ गुणा ठूलो र युरोपमा ६ गुणा ठूलो लहर सिर्जना गरिदियो। त्यस्तै, ल्याटिन अमेरिका (दक्षिण अमेरिका)मा वर्तमान लहर ब्राजिलमा २ गुणा, अर्जेन्टिनामा ३–४ गुणा र मेक्सिकोमा २ गुणा ठूलो हुन पुग्यो भने ल्याटिन अमेरिकामा वर्तमान लहर अझै स्थिर बिन्दुमा पुग्न बाँकी नै देखिन्छ।

एसियाको कुरा गर्दा जापानमा २०२२ जनवरीको सुरुवातीसम्म शून्य समान रहेको कोरोना संक्रमण एक्कासि तीव्र बन्दै गई विगतभन्दा तीन गुणाभन्दा ठूलो भइसकेको छ भने हाल पनि यो वृद्धि हुँदै जाने क्रममा देखिन्छ। त्यस्तै, दक्षिण कोरियामा डिसेम्बर दोस्रो–तेस्रो सातातिर मात्रै हालसम्मकै ठूलो लहर देखा परी केही शान्त हुन नपाउँदै जनवरी तेस्रो सातादेखि फेरि नयाँ लहर देखा परी अघिल्लोभन्दा दुई गुणा ठूलो भइसकेको छ र यो अझै बढ्ने क्रममा देखिन्छ।

दक्षिण एसियाको कुरा गर्दा वर्तमान लहर निकै ठूलो रूपमा आए पनि हालसम्मकै ठूलो भने हुन पाएन तर यहाँ पनि देशअनुसार वर्तमान लहर फरक देखिएको छ।

दक्षिण एसियाको कोरोना प्यान्डेमिकमा सबैभन्दा ठूलो देश भएको हुनाले स्वाभाविकैले भारतको सबैभन्दा ठूलो प्रभुत्व र वर्चस्व रहँदै आएको छ।

वर्तमान लहर पनि त्यस्तै देखिएको छ। यद्यपि, भारतमा भने युरोप र अमेरिकामा जस्तो वर्तमान लहरले नयाँ किर्तिमान बनाउन पाएन।

पाकिस्तान, नेपाल, माल्दिभ्स र भुटानमा वर्तमान लहरहालसम्मकै ठूलो लहर बन्यो यद्यपि अन्यत्रजस्तो भएन। भुटानमा भने वर्तमान लहरले निकै ठूलो रुप लियो र वर्तमान लहर बिगतकोभन्दा करिब दुई गुणाभन्दा ठूलो मात्रै भएन शून्यसमान रहेको त्यहाँको संक्रमण दर पछिल्लो समय हालसम्मकै सबैभन्दा माथि पुगी जनवरीको अन्त्यतिर २.०% भन्दा माथि पुग्यो।

त्यति मात्र नभई यस लहरको बेला थप एक जनाको कोरोनाकै कारण मृत्यु भई जम्मा मृत्यु संख्या त्यहाँ ४ पुगेको छ।

यसै क्रममा गत हप्ता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतार चढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपाल र दक्षिण एसियामा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरौँ –

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया प्यान्डेमिकको पछिल्लो सिकार बनिरहेको छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ जनवरी १९ देखि फेब्रुअरी २, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ।

पछिल्लो अवस्थामा तीव्र गतिमा बढिरहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण गत सातादेखि केही घट्दै गएको देखियो जुन करिब २००००० जति पुगेको छ।

तर, दैनिक मृत्यु भने केही बढ्दै गएको देखियो जुन दुई हप्ताअघि ७०० जति रहेकामा हाल १८०० नाघेको छ। चित्र न.२ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत अधिकांश देशमा दैनिक संक्रमण घट्दै गएको छ भने बंगलादेश, माल्दिभ्स र श्रीलंकामा भने अझै स्थिर अवस्था आउन सकेको छैन।

त्यस्तै, चित्र न.३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत साता दैनिक मृत्यु दक्षिण एसियाका सबै देशमा निकै बढ्दै गएको देखियो।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दरमा पनि केही स्थिरता देखियो। तर, गत हप्ता पनि नेपालको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने पाकिस्तानको सबैभन्दा न्यून।

श्रीलंका र माल्दिभ्सको दैनिक संक्रमण दर भने हाल पनि केही बढ्दै गएको देखिन्छ। अमेरिका र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखियो भने जापानको संक्रमण दर निकै बढेको देखियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जनवरी ३० देखि फेब्रुअरी ५ अर्थात् ०७८ माघ १६ देखि २२ गतेको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, माघ २२ गते शनिबारसम्म, देशभरि जम्मा १७८३० जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या ९६५२२२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ४३४६० थियो।

त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता १०० रह्यो जुन दुई हप्ताअघि ५२ थियो। योसमेत नेपालको जम्मा कोरोना मृत्यु ११८०३ पुगेको छ। गत हप्ता जम्मा ५९४५९ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १०१३११ थियो। पछिल्लो समय नेपालमा जम्मा परीक्षण निकै कम गर्ने गरिएको छ।

गत हप्ता काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसत ५२.४३% देखिएको छ जुन दुई हप्ताअघि ५७.७५% थियो। अर्थात् गत हप्ता देशको कुल दैनिक संक्रमणमध्ये ५२.४३% काठमाडौँ उपत्यकामा भेटिएको थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम २१.११% देखि अधिकतम ३३.९४% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २९.२४% रह्यो जुन दुई हप्ताअघि ४२.०८% थियो। नेपालमा गत हप्ता औसत साप्ताहिक संक्रमण दरमा निकै सुधार देखियो। तर, त्यसको विपरीत दैनिक मृत्युमा वृद्धि भएको पाइएको छ।

चित्र न. ७ ले डेढ महिनाभन्दा लामो समयदेखिको साप्ताहिक मृत्युको प्रवृत्ति देखाएको छ जसमा साप्ताहिक मृत्यु संख्यामा निकै वृद्धि भएको देखिन्छ।

संक्षेपमा, वर्तमान ओमिक्रोन प्यान्डेमिक लहर विगतभन्दा निकै व्यापक भई पृथ्वीको सबैजसो भूभागमा तीव्र फैलिए पनि यसको रुप विश्वमा फरक–फरक देखिएको छ।

पछिल्लो समय दक्षिण एसियालगायत विश्वका अधिकांश ठाउँमा वर्तमान लहर केही स्थिर रही घट्न थालेको देखिन्छ भने कतै यो अझै निरन्तर देखिन्छ।

तर, मृत्युमा भने वृद्धि भएको पाइयो। तसर्थ यो फेरि कहिले, कहाँ र कसरी देखापर्छ कुनै निश्चित छैन। गत हप्ता ०७८ माघ १६ देखि २२ गतेसम्म, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण दर घटेको पाइयो।

यद्यपि, यो कमी आउनुमा निकै कम परीक्षणको पनि योगदान देखिन्छ जुन दुई साताअघिकोभन्दा करिब आधाले कम भएको छ। दैनिक मृत्यु र साप्ताहिक मृत्यु संख्यामा तीव्र वृद्धि हुनु दुःखद मात्र नभई प्यान्डेमिकको अनिश्चित अवस्थाको सूचक हुन सक्छ।

त्यसमाथि जम्मा परीक्षण नै कम गरिएपछि प्यान्डेमिकसँग सम्बन्धित सबै तथ्यांकमा कमी आउने भएको हुनाले हालको संक्रमण संख्या र दरमा आएको कमी कृत्रिम पनि हुन सक्छ।

तसर्थ यसलाई अवज्ञा र बेवास्ता गर्नु मूर्खता हुन सक्छ। त्यस्तै, सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण केही हप्तादेखि निरन्तर घट्दै आएको छ जसले पछिल्लो समय कोरोना संक्रमण काठमाडौँ उपत्यकाबाहेक अन्यत्र पनि केही बढेको संकेत गर्छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने हुन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु बुद्धिमानी हुनेछ।

माघ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्