जो कहिल्यै बेसुरा भइनन्

लता मंगेशकरको जीवनका यी अनमोल पलहरु

भारतीय चलचित्र क्षेत्रकी स्वरकोकिला लता मंगेशकरको आइतबार बिहान निधन भयो। उनलाई एक महिनाअगाडि कोरोना भाइरस संक्रमण भएको थियो। उनले ९२ वर्षको उमेरमा आइतबार सरस्वती पूजाको दिन ८ बजेर १२ मिनेट जाँदा अन्तिम सास लिएकी थिइन् ।

यहाँ उनको जीवनका केही अनमोल पल याद गरिएको छ।

त्यो समयमा भारतीयहरुबीच प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको बारेमा एक भनाइ प्रख्यात थियो। भनिन्थ्यो, उनी सार्वजनिक रुपमा आफू पनि कहिल्यै रुँदैनथे र अरु रोएको पनि मन पराउँदैन थिए।

तर सन् १९६३ को जनवरी २७ मा लता मंगेशकरले कवि प्रदीपले लेखेको गीत ‘ए मेरे वतनके लोगो’ गाएकी थिइन्। त्यो बेला नेहरुले आफ्नो आँशु रोक्न सकेनन्।

गीत गाइसकेपछि लता स्टेजको पछाडि बसेर कफी पिइरहेकी थिइन् । त्यही बेला निर्देशक मेहबुबु खानले लतालाई नेहरुले बोलाएको खबर दिए।

मेहबुबले पण्डितको आगाडि पुगेर लतालाई देखाउँदै भनेका थिए, ‘यी हुन हाम्री लता। तपाईलाई उनले गाएको गीत कस्तो लाग्यो ?’

नेहरुले जवाफ फर्काए, ‘धेरै राम्रो, यिनले मेरो आँखामा पानी ल्याइदिइन्।’ त्यसपछि नेहरुले लतालाई अंकमाल गरेका थिए।

पण्डित जवाहरलाल नेहरुसँग लता मंगेशकर।

यो गीतलाई त्यसपछि मास्टर टेपबाट रेकर्ड गरी भारतका धेरैओटा स्टेशनमा पठाइयो र बजारमा वितरण गरियो। हेर्दा हेदै यो गीत एक किसिमका ‘राष्ट्रिय जागरण’ जस्तै बन्यो।

सन् १९६४ मा नेहरु मुम्बई आएको समयमा लताले आरजू चलचित्रको गीत ‘अजी रुठ कर कहाँ जाएँगे’ गाएकी थिइन्।

त्यस बेला नेहरुले एउटा चिट उनीसम्म पुर्‍याएर एकपल्ट पुन ‘ए मेरे वतन के लोगो’ सुन्ने इच्छा देखाएका थिए र लताले यो इच्छा पूरा गरिन्।’

वर्षात चलचित्रपछि लाग्यो करियरमा उचाई

सन् १९४९ मा ‘अन्दाज’ प्रदर्शन भएपछि संगीत चार्टको पहिलो पाँच स्थानमा सँधै लता मंगेशकरको नाम रह्यो। यद्यपि लताले ८० वर्ष हुँदा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो करियर राज कपूर र नरगिसको चलचित्र ‘वर्षात’ पछि उकालो लागेको बताएकी थिइन्।

संगीतकार मदन मोहनसँग लता मंगेशकर।

लताको बारेमा प्रसिद्ध संगीतकार ‘मदन मोहन’ ले एक पल्ट भनेका थिए, ‘सन् १९५६ मा मेट्रो मर्फीको तर्फबाट हामी संगीतकारहरुलाई ट्यालेन्ट पहिचानको लागि पूरै भारतमा पठाइएको थियो। हामीमध्ये कुनै एकले पनि लताको आसपास आउन सक्ने कोही एक जना पनि भेटेनौँ। यो हाम्रो सौभाग्य थियो लता हाम्रो समयमा अवतरित भइन्।’

बडे गुलाम अलि खाँको टिप्पणी

खासमा सन् १९४८ मा चलचित्र ‘महल’ सार्वजनिक भएपछि गीता राय बाहेक अरु गायिकाहरु आफसे आफ बाटो लागे। त्यो समय मंगेशकरका प्रतिद्वन्द्वी शमशाद बेगम, जोहरााबाई अंबालावाली, पारुल घोष र अमिरबाई कर्नाटकी थिए।

बडे गुलाम अलि खाँसँग लता मंगेशकर।

जब सन् १९५० मा जब उनले ‘आएगा आने वाला’ गाइन्। त्यतिबेला ‘अल इन्डिया रेडियो’ मा चलचित्रको गीत बजाउन मनाही थियो। त्यो समय रेडियो सिलोन पनि थिएन। भारतवासीहरुले लताको आवाज पहिलोपल्ट ‘रेडियो गोर्खा’ बाट सुनेका थिए।

गोवा त्यो बेलामा पोर्चुगलको कब्जामा थियो। भारतीय सेनाले सन् १९६१ मा स्वतन्त्र गरेको थियो।

चर्चित शास्त्रीय गायक पंडित जसराजले एक चाखलाग्दो किस्सा सुनाएका थिए, ‘एक पल्ट ‘बडे गुलाम अलि खाँ’ सँग भेट्न अमृतसर गएको थिएँ। त्यो बेलामा हामी कुराकानी गर्दै थियौँ त्यति नै बेला लताले गाएको गीत बज्यो, ‘यो जीन्दगी उसी की है जो किसीका हो गया।’ खाँ साब गीत बजेपछि बज्दा बज्दै चुप लागे र गीत सक्किएपछि उनले भने, ‘कहिले पनि बेसुरा भइनन्।’ यो टिप्पणीमा उनको बुवाको माया थियो र कलाकारको भाव पनि।’

पाँच वर्षको उमेरमा पिताले चिने प्रतिभा

लताले पाँच वर्षको उमेरबाट गाउन शुरु गरेकी थिइन्। नसरीन मुन्नीको किताब ‘लता इन हर ओन वायस’ मा लताले बताएकी छन्, ‘म आफ्नो पिता दिनानाथ मंगेशकरलाई गाएको देख्थेँ, तर उहाँको अगाडि गाउने हिम्मत आउँदैन थियो। एक दिन बाबा आफ्नो शिष्यलाई राग सिकाइरहेका थिए, बाबा केही कामले बाहिर आउनुभयो। मैले बाबाको शिष्यलाई गाइरहेको सुनेँ। मलाई लाग्यो शिष्यले ठीत तरिकाले गाइरहेको छैन। म उसको अगाडि गएँ र शिष्यलाई यसरी गाउने हो भनेर गाएर सिकाइदिएँ।’

संगीतकार अनिल विस्वाससँग लता मंगेशकर।

उनले अगाडि भनिन्, ‘जब मेरा पिता फिर्ता आउनुभयो तब उहाँले ढोकाको संघारबाट मैले गाइरहेको देख्नुभयो। उहाँले मेरी आमालाई बोलाएर भन्नुभयो, ‘हाम्रो घरमा राम्री गायिका रहिछन् भनेर हामीलाई थाहा नै रहेनछ।’ त्यसको भोलिपल्ट बाबाले बिहान ६ बजे उठाएर मलाई तानपुरा उठाउन भन्नुभयो। बाबाले अब मैले गीत गाउन सिक्ने कुरा बताउँदै पूरिया धनाश्ररी रागबाट शुरु गर्नुभयो। म त्यो बेला जम्मा ५ वर्षको थिएँ।’

खासमा लता मंगेशकर धेरै संगीतकारसँग काम गरेकी छन् तर गुलाम हैदरको लागि उनको मनमा खास ठाउँ छ। उनलाई हैदरले गीत उठाउने एउटा तरिका सिकाएका थिए। यस्तै अनिल विश्वाससँग लताले सासलाई नियन्त्रण गर्ने गुण सिकिन्।

दिलीप कुमारको चुनौती

लता सुरिलोपनका साथसाथै उर्दु भाषाको भाका निकाल्न पनि पोख्त मानिन्थिन्। यसको श्रेय अभिनेता दीलिप कुमारलाई जान्छ।

हरिश भिमानी आफ्नो किताब ‘लता दिदी अजिब दासता हैँ’मा लेख्छन्, ‘एक दिन अनिल विश्वास र लता मुम्बईको रेलबाट गोरेगाँव गईरहेका थिए, संयोगले त्यही रेलमा बान्द्रा स्टेशनबाट अभिनेता दिलिप कुमार चढे।’

दीलिप कुमारसँग लता मंगेशकर।

जब अनिल विश्वासले नयाँ गायिकालाई दीलिपसँग चिनाए, दीलिपले भने, ‘मराठी मानिसको मुखबाट दाल, भातको बास्ना आउँछ। उनीहरुले उर्दु संगीतको लचकता के जानेका हुन्छन् र? लताले यो कुरालाई चुनौतीको रुपमा लिइन् र सफी साहबसँग मौलवी उस्तादको व्यवस्था गरिन्। उनको नाम महबूब थियो, लताले उनीसँग उर्दुको संगीतको भाव सिकिन्।

यसको केही समयपछि चलचित्र लाहोरको छायाँकन चलिरहेको थियो जहाँ जद्दनबाई र उनकी छोरी नरगिस पनि सहभागी थिए। लताले स्टुडियोमा ‘दीपक बगेर केसे परवाने जल रहे है’ गीतको रेकर्डिङ शुरु गरिन्।

गीतको रेकर्डिङपछि जद्दनबाईले लतालाई बोलाएर तारिफ गर्दै भनिन्, ‘मासाअल्लाह कस्तो राम्ररी गाउनुभएको, यस्तो लय मिलाउन जो कोहीले सक्दैन।’

मेहबुब खाँलाई फोनमा ‘रसिक बलमा’ गाएर सुनाइन्

लताको स्वरमा अर्को एउटा खास विशेषता थियो, सँधै युवा जस्तै आवाज। सन् १९६१ मा जंगली चलचित्रमा लताले शायरा बानोको लागी ‘कश्मिरकी कली हुँ’ गाइन्। त्यो बेलामा उनको स्वर जति मादक सुनिएको थियो, त्यसको १२ वर्षपछि उनले चलचित्र ‘अनामिका’ मा जया भादुडीको लागि ‘बाहोँ मे चले आओ’ पनि उत्तिकै मादक सुनिएको थियो।

उनको बारेमा एक कहानी प्रख्यात छ, ‘सन् १९५८ मा महबुब खाँ ओस्कर समारोहमा भाग लिनको लागि लस एञ्जलस गएका थिए। समारोहको दुई दिनपछि उनलाई ‘हर्ट अट्याक’ आयो।

राजू भारतन लता मंगेशकरको जीवनीमा लेख्छन्, ‘लताले उनलाई बम्बईबाट फोन गरिन्, हालखबर सोधेपछि महबुबले लताको गीत सुन्ने इच्छा रहेको सुनाए। अमेरिकामा लताको गीतको रेकर्डिङ पाउन सम्भव थिएन।

लताले कुन गीत सुन्न इच्छा भएको सोधिन्, महबुबको इच्छा अनुसार लताले ‘रसिक बलमा’ गीत गुनगुनाइन्। त्यसको एक सातामा लताले फेरि फोन गरेर यो गीत महबुबलाई सुनाइन्। महबुबले ठीक भएपछि यो गीतले निको हुन सहयोग गरेको पनि उल्लेख गरे ।

मोहम्मद रफीसँग मनमुटाब

लताले धेरै गायकहरुसँग गीत गाइन्। तर मोहम्मद रफीसँग गाएको गीत स्रोतालाई धेरै राम्रो लाग्यो।

मोहम्मल रफीसँग लता मंगेशकर।

रफीको बारेमा लताले एक चाखलाग्दो कहानी सुनाएकी छन्, ‘एकपल्ट म र रफी साहब स्टेजमा गाइरहेका थियौँ, गीतको लाइन थियो, ‘यसे हसहस कर ना तुम’ रफी साहबलाई यो लाइन भन्नु थियो, तर उनले बोल्दा बोदै स्रोता हाँसे, रफी साहब पनि हाँस्नुभयो र मेरो पनि हाँसो फुत्कियो। त्यसको नतिजा के भयो भने, हामीले गीत पूरा गाउँन नै सकेनौँ र आयोजकलाई पर्दा झारेर कार्यक्रम सक्काउन पर्‍यो।’

६० को दशकमा गीतको रोयल्टीको बारेमा रफीसँग लताको मतभेद भयो। यो लडाइमा मुकेश, तलत महमूद, किशोर कुमार र मन्ना डेले लताको साथ थिए तर लताकी आफ्नै बहिनी आशा भोंसले मोहम्मदको साथ दिइरहेकी थिइन्।

४ वर्षसम्म यी दुईले एक अर्कालाई बायकट गरिरहे र अन्त्यमा सचिनदेव वर्मनले दुईको विवाद मिलाइदिए।

लताप्रति सचिनदेव वर्मनको झुकाव

सचिनदेव वर्मन लतालाई धेरै मन पराउँथे। जब उनी लताको गीत सुनेर खुसी हुन्थे, तब लताको ढाडमा थपथपाएर पान खान दिन्थे। सचिनदेव पानको सोखी थिए। उनले पान दिनुको अर्थ उनी त्यो व्यक्तिबाट असाध्यै खुसी भएको मानिन्थ्यो।

तर एक पल्ट लता र सचिनदेव बिचमा लडाइँ भयो।

‘मिस इन्डिया’ चलचित्रमा लताले एउटा गीत गाइन् । बर्मन यो गीतलाई ‘सफ्ट मुड’ मा गाउन लगाउन चाहन्थे। लताले आफू अहिले धेरे व्यस्त भएपनि समय निकालेर गाउने बताएकी थिइन्। केही दिन पछि सचिनदेवले रेकर्डिङको मिति माग्न मान्छे पठाए, त्यो व्यक्तिले सचिनलाई लता व्यस्त छिन् भन्नुको साटो यो गीत उनले गाउँदिनन् भनिदिए।

यो कुराले सचिन धेरै दुखी भएर आगामी दिनमा कुनै पनि काम लतासँग नगर्ने बताए।

लतालाई पनि रिस उठ्यो, त्यसपछि उनले फोन गरेर भनिन्, ‘तपाईलाई यो घोषणा गर्नुपर्ने केही जरुरत थिएन, किनभने म अब तपाईसँग कुनै पनि काम गर्दिन।’

केही वर्षपछि यी दुई बिचको मनमुटाव सकियो र लताले उनको चलचित्र बन्दिनीको लागि ‘मोरा गोरा अंग लै ले’ गाइन्।

क्रिकेटमा विशेष शोख

लता मंगेशकर क्रिकेटको धेरै शोखिन थिइन्। उनले पहिलोपल्ट सन् १९४६ मा मुम्बईको ब्रेबोर्न स्टेडियममा भारत र अष्ट्रेलियाकोबिचमा भएको टेस्ट म्याच हेरेकी थिइन्। त्यसपछि उनले इंग्ल्याण्डको ओवल मैदानमा इंग्ल्याण्ड र पाकिस्तान बीचमा भएको टेस्ट म्याच पनि हेरिन्।

क्रिकेटका महानतम खेलाडी डन ब्रेडम्यानले लतालाई आफ्नो हस्ताक्षर भएको चित्र उपहार दिएका थिए।

लतासँग राम्रा राम्रा कारको संकलन थियो। उनले हिलम्यान कम्पनीको त्यो समयमा ८ हजार पर्ने कार पहिलोपल्ट किनेकी थिइन्।

त्यो समयमा उनलाई हरेक गीत गाएको २०० देखि ५०० सम्म आम्दानी हुन्थ्यो। सन् १९६४ मा संगम चलचित्रको हरेक गीतको लागि उनलाई २००० भारतीय रुपैयाँ दिन थालिएको थियो। त्यसपछि उनले हिलम्यान बेचेर अर्कै ब्राण्डको कार किनिन्।

जब लताले यस चोपडाको चलचित्र ‘वीर जारा’ को लागि गीत गाइन्, चोपडाले उनलाई अफर गरेको पारिश्रमिक लताले लिइनन्। यसलाई उनले भाइ मान्ने गरेकी थिइन्।

चलचित्र प्रदर्शन भएपछि यश चोपडाले लतालाई ‘मर्सिडिज’ कार उपहारको रुपमा दिएका थिए। लताले आफ्नो जीवनको अन्तिम समयसम्म त्यही कारमा चढेर यात्रा गरिन्।

हिरा र जासूसी उपन्यास मनपर्ने

लता मंगेशकर हिरा र पन्नाको सोखिन थिइन्। आफ्नो कमाइबाट उनले सन् १९४८ मा ७०० रुपैयाँ तिरेर आफ्नो लागि हिराको औँठी बनाएकी थिइन्। त्यो औँठीलाई उनले देब्रे हातको साँइली औँलामा लगाउँथिन्। कसैको सल्लाहमा उनले सुनको पाउजु लगाएकी थिइन् तर त्यो बाहेक सुनमा उनको कुनै पनि रुचि रहेन।

यस्तै लतालाई जासुसीको किताब धेरै पढ्न मन लाग्थ्यो। उनीसँग शेरलक होम्सका प्राय सबै पुस्तकहरु थिए।

उनले मिठाइमा जेरी धेरै मिठो लाग्थ्यो भने, एक समयमा उनलाई इन्दौरको गुलाबजामुन असाध्यै मन पर्थ्यो। उनी सुजीको हलुवा बनाउन सारै रहर गर्थिन्। उनले बनाएको खसीको मासु खानेले कहिल्यै स्वाद बिर्सँदैन थियो।

सन् २००१ मा भारत रत्न

आज भारतमा लता मंगेशकरलाई हदभन्दा धेरै माया गर्ने गरिन्छ। धेरै मानिसहरु उनको स्वरलाई ईश्वरको उपहार भन्ने गर्छन्।

लतालाई चलचित्र क्षेत्रको सबै भन्दा ठूलो सम्मान दादा साहब पुरस्कारबाट सन् १९८९ र भारतको सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न २००१’ मा सम्मानित गरिएको थियो। लता मंगेशकरलाई यी बाहेक धेरै ठाउँबाट धेरै किसिमका सम्मान दिइएको थियो।

तस्बिर बिबिसी हिन्दी
अनुवाद– सुजाता खत्री

माघ २३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्