स्वस्थानी व्रतकथाबाट खास के छ? यसबाट के सिक्ने?

एकतीस अध्याय भएको स्कन्दपुराणभित्रको केदारखण्ड, माघमाहात्म्यमा रहेको कथालाई स्वस्थानी भनिन्छ। पौषशुक्ल पूर्णिमाबाट प्रारम्भ भई माघशुक्ल पूर्णिमासम्म मध्याह्नमा महादेवको पूजा गरी स्वस्थानीदेवीको अनुष्ठान गरिन्छ। ‘स्व’को अर्थ आफू र ‘स्थानी’को अर्थ वासस्थान वा रहने हुन्छ अर्थात् आफूभित्र रहेकी देवीको पूजा, उपासना, चिन्तन गर्नु नै स्वस्थानी पूजा हो। स्वस्थानी पूजा अन्ततः आत्मापूजा वा परमात्माको चिन्तन हो। १८ पुराणमध्ये स्कन्दपुराण सबैभन्दा बृहत्तर ग्रन्थ हो जसमा एकासी हजार श्लोक छन्।

यसैभित्र पर्ने हिमवत्खण्ड जहाँ नेपालबारे विस्तृत जानकारी पाइन्छ त्यसलाई अहिलेको स्कन्दपुराणमा समाविष्ट गरिएको छैन। यो किन हटाइयो, कहिलेदेखि हटाइयो भन्ने पक्षमा कहिल्यै, कतैबाट आवाज उठेन। मानसखण्ड र हिमवत्खण्डले नेपालका अधिकांश भूगोल, तीर्थस्थलको जानकारी दिन्छ।

माघमाहात्म्यभित्र पर्ने स्वस्थानीकथाले माघमहिनाको महिमालाई पनि उजागर गरेको छ, पूजा र व्रतका लाभलाई बताएको छ, आफ्नो संस्कृति र संस्कारलाई जीवन्त राख्न पाठ पढाएको छ। हुन त हरेक दिन हाम्रा लागि पर्व हुन्, हरेक नदी तीर्थस्थल हुन्, प्रत्येक ढुंगा देवीदेवताको स्वरुप हुन्, यहाँका सबै बिरुवा ऋषिका अवतार हुन् किनकि यो देवभूमि, यज्ञभूमि, साधनाभूमि, पुण्यभूमि हो।

गंगा र महादेवका पुत्र स्कन्द (कुमार)ले अगस्त्यलाई सुनाएको कथा नै स्वस्थानीकथा हो। यसको सुरुवात संसारको उत्पत्ति, यहाँका समुद्र, महादेश आदिको बनोटबाट श्रीगणेश हुन्छ। शेषनागमाथि योगनिद्रामा मस्त भगवान् नारायणको नाभीमा उम्रिएको कमलमा बसेका ब्रह्मालाई विष्णुको कानेगुजीबाट उत्पन्न भएका मधु र कैटभ नामका दुई राक्षसहरूले युद्धका लागि चुनौती दिन्छन्।

‘मधु तमो गुणको प्रतीक हो, कैटभ रजो गुणको। विष्णु शेषनागमाथि सुतेका छन् जसको नाभीमा उम्रिएको कमलमाथि ब्रह्मा बसेका छन्। शरीरको केन्द्र भाग नाभी(नाइटो) हो। रावणको नाभीमा अमृत थियो, गर्भमा रहँदा नाभीबाट नै प्राणीले खाना प्राप्त गर्छ। नाभीमा लगाइएको तेल आदि पदार्थ शरीरका विभिन्न भागमा छिटो पुग्छ। नाभीमा उम्रेको कमल एवं त्यहाँ बसेका ब्रह्माजीको रुपकभित्र सृष्टिको वर्णन छ।

मधु र कैटभले ब्रह्माजीलाई युद्धमा आउन चुनौती दिएपछि उनले लक्ष्मीको स्तुति गरेर विष्णुलाई जगाउन अनुरोध गर्छन्। ब्रह्माको रक्षार्थ देवीले विष्णुलाई जगाउँछिन्। देवीको अर्थ प्रकृति हो। विष्णु पुरुष हुन्। पुरुष र प्रकृति नभई सृष्टि सम्भव छैन।

प्राणीका पालनकर्ता (विष्णु) र प्रकृतिको संयोजनपछि ब्रह्माले सृष्टि गर्छन् भन्ने यसको प्रतीकात्मक अर्थ हो। भगवान् विष्णुले मधु र कैटभसँग पाँच हजार वर्षसम्म युद्ध गर्दा परिणाम हात नलागेपछि बुद्धिद्वारा जित्नुपर्ने निष्कर्ष निकाल्नुभयो र वरदान मागभन्दा राक्षसले ‘तिमी नै माग हामी दिन्छौँ’ भने। यही मौका छोपी विष्णुले ‘तिमीहरूलाई मार्न पाऊँ’ भन्नुभयो।

राक्षसले पानीमा होइन अन्यत्र मार भनी अत्तो थापे। पृथ्वी जलमग्न भएकाले विष्णुले राक्षसलाई काखमा राखी संसारबाट बिदा दिनुभयो। उनीहरूको रगतबाट पानी, मासु र हाडबाट पहाड, माटो, ढुंगा आदि निर्माण भएपछि ब्रह्माजीले सृष्टिको प्रारम्भ गर्नुभयो। ‘नार’को अर्थ पानी, ‘अयन’को अर्थ बाटो वा घर हुन्छ। जसको घर नै पानीमा छ, त्यसलाई नारायण भनिन्छ। राक्षसहरूलाई विष्णुले मार्नुपहिले सात महासागर र महादेशको उत्पत्ति भइसकेको थियो। राक्षसको रगतबाट समुद्र बनेको भए पानीको रंग रातो हुनुपर्ने, ढुंगामा हाडको विशेषता देखिनुपर्ने, माटोबाट मासुको गन्ध आउनुपर्ने थियो। यसको प्रतीकात्मक अर्थ हो– परमात्मालाई सृष्टिको इच्छा भएपछि मधु (मोह), कैटभ (माया)ले ब्रह्मा(सृष्टिकर्ता)लाई उठाए, ब्रह्माले लक्ष्मी (प्रकृति)को सहयोग लिएर विष्णु(पुरुष)लाई जगाए।

ब्रह्मा नभई प्राणी उत्पन्न हुँदैन, विष्णु नभई पालन हुँदैन, महादेव नभई विनाश हुँदैन। मधु र कैटभले आक्रमणको केन्द्रविन्दु ब्रह्मालाई बनाए। उन्मत्त राक्षसले युद्ध चाहेका भए त विष्णुलाई पहिले उठाउनुपर्ने हो, लक्ष्मीमाथि हातपात गर्नुपर्ने हो। यस कथाले संसारका प्रत्येक प्राणीमा मधु र कैटभको आसुरीभाव छ भनेर देखाउन खोजेको छ।

मधुको अर्थ देखावटी रूपमा मीठो बोल्ने तर भित्रभित्र कूटनीति खेल्ने, थाहै नपाईकन तहसनसह बनाउने प्रवृत्तिलाई बुझाउँछ। कैटभचाहिँ कपटपूर्ण आदत वा व्यवहारको प्रतीक हो। अहिलेका प्रत्येक मानिसभित्र धेरथोर मधु र कैटभ लुकेका छन्। विष्णु र राक्षसबीच पाँच हजार वर्षसम्म युद्ध भयो अर्थात् जीवात्माको उत्पत्ति पाञ्चभौतिकतत्व (जल, तेज, वायु, आकाश, पृथ्वी)बाट भएको यसले पुष्टि गर्छ।

मुण्डकोपनिषद्मा भनिएको छ– ब्रह्मा देवानां प्रथमः संवभूव विश्वस्य कर्ता अर्थात् सबै देवतामा विश्वकर्ता ब्रह्मा पहिले उत्पन्न हुनुभयो। ब्रह्माजीले सम्पूर्ण लोकको सृष्टि गर्नुभएकाले पहिलो देवता भनिएको हो। प्राणीलाई मायाजालमा भुलाउन मधु र कैटभ अर्थात् प्रकृतिको आवश्यकता पर्छ। जबसम्म संसार झुटो हो भन्ने बुझ्दैनन् तबसम्म मधु र कैटभका स्वभाव प्राणीमा हुन्छ। यसबाट मुक्ति पाउन ब्रह्माजी, विष्णु वा महादेवजस्तै योगनिद्रामा मग्न हुनुपर्छ। यसकारण स्वस्थानीलाई कथा मात्र होइन, दर्शनको दृष्टिले हेर्न आवश्यक छ।

दक्षप्रजापतिसँग महादेवको वैमनस्य थियो। त्यसैले दक्षकी सुपुत्री सतीसँग विवाह गर्न महादेवलाई विष्णुले सहयोग गर्नुभयो। सतीको ऊर्जा महादेवसँग मिल्थ्यो त्यसैले विष्णुले यो छल गर्नुपरेको थियो। विष्णुले पहिले नै लक्ष्मीसँग विवाह गरेका कारण पनि सतीसँग विवाह गर्नुभएन। के यो संस्कार स्वस्थानीबाट सिक्दा अहिलेका माननीयलाई कुनै आपत पर्छ र ? बहुविवाह गर्न हुँदैन भन्नेहरूले यसलाई किन उदाहरणका रूपमा प्रस्तुत गर्न तिघ्रा कमाउँछन् ? विवाह सन्तान उत्पादन वा शारीरिक सम्बन्धको क्षणिक उपलब्धिका लागि मात्र गरिँदैन। स्वर्गका राजा इन्द्रकी श्रीमती शची हुन्। इन्द्रलाई बेलाबेलामा स्वर्ग छाड्नुपर्दा शचीले हरेक नयाँ राजासँग शारीरिक सम्बन्ध राखिनन्। एकपटक इन्द्रलाई स्वर्गबाट हटाएर नहुष राजा भए।

त्यतिबेला उनले शचीमाथि गिद्दे दृष्टि राखे। शचीले नहुषलाई भनिन्– यदि तपाईंले ऋषिहरूलाई डोले बनाएर मलाई लिन आउनुभयो भने मात्र विवाह हुन्छ। नहुषले ऋषिहरूलाई डोले बनाए तर ऋषिलाई लातो लागेपछि श्राप पाएर पृथ्वीतिर झरे।

रावण मारिएपछि मन्दोदरीलाई महारानीले बन्न भगवान् रामले अनुरोध गरे। मन्दोदरीले विभीषणको महारानी हुन मन्जुर गरिन् तर श्रीमती बनिनन्। यसकारण महादेवको प्रकृतिस्वरुपाको पद सतीले ग्रहण गरिकी हुन्। देवीदेवताले छोराछोरी जन्माउन विवाह गरेका होइनन् अन्यथा महादेव र पार्वतीको, विष्णु र लक्ष्मीको शारीरिक सम्बन्धबाट कुनै सन्तान जन्मिएनन्।

उनीहरू अवश्य नपुंसक थिएनन्। यसकारण शास्त्रलाई दन्तेकथाझैँ बुझ्दा अर्थको अनर्थ लाग्छ। जालन्धरले वृन्दाको प्रशंसा गर्दा पार्वती संसारकै सुन्दर भएको प्रकरण स्वस्थानीमा आउँछ। जालन्धर तपस्याले मात्र होइन, श्रीमतीको सतीत्वले पनि कालजीयजस्तै थिए। उसलाई यही प्रमादले कुत्कुत्यायो र पार्वतीलाई छल गर्न महादेवको स्वरुप लिई कैलासतिर लागे। मानसरोवरमा जलशयर गर्न गएका महादेव फर्केको सम्झेर पार्वती स्वागतका लागि जाँदा जालन्धरले आफ्नो होश गुमाए।

तपस्याकालमा ज्यान बनाउनभन्दा पनि परमात्माको दर्शन एवं ज्ञान प्राप्त गर्न शक्ति खर्च हुन्छ। त्यसैले तपस्याकालमा कसैको शरीर पनि आकर्षक हुँदैन तथापि ध्यानमा बसेका शिव शर्माको उमेर स्कन्दपुराणमा खुलाइएको छैन। गोमालाई उनका बुबाआमाले गणेशको तपस्याबाट प्राप्त गरेका थिए। भाकल गरेर प्राप्त गरेका सन्तान अर्थात् भाग्यमा नभएका तर भ्रष्टाचारबाट उपलब्ध पदार्थले कसैलाई शान्ति दिँदैन भन्ने यसको सन्देश हो।

यो छललाई बुझेर पार्वतीले विष्णुको आह्वान गरी सबै जानकारी गराइन्। विष्णुले मानसरोवरमा पुगी महादेवलाई खबर दिई आफू भने वृन्दाको सतीत्व गडाउन हिँडे। यस प्रकरणले कुनै पनि महिला र पुरुषबीचको सतीत्वले जीवनमा कति अर्थ राख्छ भन्ने तथ्यलाई देखाउँछ। अन्ततः विष्णुले दोस्रोपटक छद्म भेषमा गई वृन्दाको सतीत्व गडाएपछि जालन्धरलाई महादेवले मार्छन्।

विष्णुले यौनपीडालाई शान्त गर्नका यो भूमिका खेलेका होइनन् परस्त्रीमाथि आँखा लगाउनेहरूको हालत के हुन्छ भन्ने सन्देश दिन खोजिएको हो। शक्ति, सम्पत्ति र सत्तामा बसेकाहरूले आफूलाई महानायक सम्झिए च्यूत हुने काम गरे ढिलोचाँडो जालन्धरको हालत हुन्छ भन्ने पाठ हरेकले बुझ्न आवश्यक छ। हरेक महिलाले अर्काकी स्त्री राम्री छ भन्दै पुरुषलाई स्वतन्त्र छाड्दा के हुन्छ भन्ने हेक्का यस कथाबाट राख्नुपर्छ।

वृन्दाले पतिवियोगमा विष्णुलाई श्राप दिइन्। श्राप मानिसलाई त के देवतालाई पनि लाग्छ त्यसकारण कसैको चित्त नदुखाऊ भन्ने सूचना स्वस्थानीकथाले दिन्छ।

यस कथामा ७ वर्षकी गोमाको विवाह ७० वर्षको बूढासँग भएको चर्चा छ। यसलाई नेपालीकरण गर्दा अनुवादकले निकै ठूलो गल्ती गरेका छन्। मूलग्रन्थमा भने गोमा १० वर्ष पुगेपछि उनका बुबा शिव भट्टले वर खोज्न थालेको र १३ वर्षको उमेरमा झट्ट हेर्दा ७० वर्षजस्ता देखिने तपस्वी शिव शर्मासँग विवाह गरिदिएको वर्णन छ। तपस्याकालमा ज्यान बनाउनभन्दा पनि परमात्माको दर्शन एवं ज्ञान प्राप्त गर्न शक्ति खर्च हुन्छ। त्यसैले तपस्याकालमा कसैको शरीर पनि आकर्षक हुँदैन तथापि ध्यानमा बसेका शिव शर्माको उमेर स्कन्दपुराणमा खुलाइएको छैन। गोमालाई उनका बुबाआमाले गणेशको तपस्याबाट प्राप्त गरेका थिए। भाकल गरेर प्राप्त गरेका सन्तान अर्थात् भाग्यमा नभएका तर भ्रष्टाचारबाट उपलब्ध पदार्थले कसैलाई शान्ति दिँदैन भन्ने यसको सन्देश हो।

गोमा र शिव शर्माबाट जन्मिएका नवराजले आफू गर्भमा रहँदा अर्थसंकलन गर्न गएका बुबाको खोजखबर गर्न निस्के। बुबा रुखबाट लडेर मरेको थाहा पाएपछि अन्त्येष्टि कर्म गरी फर्के। गणेशले पार्वती र महादेवलाई तीनपटक परिक्रममा गरेर अग्रपूज्य देवता बने। सन्तानले यही रुपमा अभिभावकप्रति स्नेह गर्ने हो भने वृद्धाश्रमको जरुर नै पर्ने थिएन।

हामीले कुल र मूललाई भुल्दा सन्तानलाई अनाथालय, अग्रजलाई वृद्धाश्रममा बस्न बाध्य तुल्याई घर न घाटका बनाएका छौँ। यसको उत्तर नवराजको पितृमोह र मातृस्नेहको प्रकारणले दिन्छ। नवराजलाई लावण्यदेशको राजाका रूपमा हात्तीले छनोट गर्छ। यसको अर्थ हो शासकलाई मानिसले मात्र होइन, प्राणीले पनि मान्नुपर्छ अर्थात् प्रकृति र संस्कृति अनुकूलको शासक हुनुपर्छ। हाम्रा शासक राष्ट्र र जनता त के आफ्नै पार्टीअनुकूलका हुन सकेनन् त्यसैले उनीहरू स्वस्थानी कथालाई शत्रु ठान्छन्, च्यात्नलाई उर्दी जारी गर्छन्।

स्वस्थानीको पूजा पार्वतीले गरेर महादेव श्रीमान् पाइन्, नागनागिनीले गर्दा धन, पतिमिलन र शान्ति मिल्यो, गोमाले स्वस्थानी पूजाबाट दरिद्रता र अशान्तिबाट मुक्ति पाइन् तर चन्द्रवतीले स्वस्थानीको प्रसाद फाल्दा धेरै दुःख पाइन्। नेपालमा प्राचीनकालदेखि ऋषिमुनिले साधना गरे, साधुसन्तले यहाँको शैक्षिक, सांस्कृतिक विरासदलाई अक्षुण्ण राखे। यसैले पूजाबाट विमुख, देवीदेवताविरुद्धको कर्म गर्ने न त शासक, न त व्यवस्था नै टिक्न सक्यो। यो देवभूमि भएकाले यहाँका मूल्य–मान्यताविपरीत गर्नेहरूको हालत चन्द्रवतीको जस्तो हुन्छ भन्ने तथ्यलाई स्वस्थानीले बताएका छ।

स्वस्थानी कथाले गौरीघाट, मृगस्थली, शालीनदी, साँखु आदिको वर्णन गरेर नेपालको तात्कालिक भूगोलको जानकारी दिन्छ। सतीदेवीको अंगपतन भएका स्थानमा ६४ शिवलिंग आदिको स्थापना गरियो। ती स्थान दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौँ, नुवाकोट, मकवानपुर, धादिङ जिल्लामा पर्छन्। यसैले स्वस्थानीबाट हामीले तात्कालिक भूगोल, इतिहास, समाज, शासन व्यवस्था, धर्म, पारिवारिक संरचनाबारे जानकारी पाउने हुँदा यसबाट सिक्ने, बुझ्ने, लिने विषय धेरै भएको प्रष्ट हुन्छ।

माघ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्