राप्रपाबाट अलग भए पूर्वअध्यक्ष कमल थापा

कमल थापा। फाइल तस्बिर

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले  ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु’  भनेका छन्।

उनले अत्यन्त भारी मन र पीडाबोधबाट पार्टीबाट अलग हुने घोषणा गरेको भन्दै विज्ञप्ति जारी गरेका छन्।

उनले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले आफू अलग हुनु परेको पनि विज्ञप्तिमा बताएका छन्।

असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिएका छन्।

उनका अनुसार गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा थापाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

दुई महिनाअघि भएको राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा थापालाई पराजित गरेका थिए।

माघ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्