राप्रपा छाड्दै कमल थापाले भने- आफ्ना कुरा सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिएँ

फाइल फोटो।

काठमाडौँ – राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीमा आफ्नो कुरा सुनुवाइ नहुने भएपछि दल नै परित्याग गरेको बताएका छन्।

मंगलबार गृहनगर हेटौडा पुगेका थापाले त्यहीँबाट विज्ञप्ति जारी गर्दै आफूले भारी मनका साथ पार्टी परित्याग गरेको उल्लेख गरेका छन्। पार्टीमा सैद्धान्तिक विचलन देखा परेको आरोप लगाउँदै उनले राप्रपा छाड्ने निधो गरेका हुन्।

थापाले भनेका छन्, ‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्ना कुराको सुनुवा‍इ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ।’

गत पुसमा भएको महाधिवेशनमा पराजित भएपछि थापा आक्रोशित भएका थिए। आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको दाबी गर्दै आएका थापाले त्यस विषयमा छानबिन हुनुपर्ने माग पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरेका थिए।

तर लिङ्देन आफ्नै विजयमाथि प्रश्न उठ्ने गरी महाधिवेशनमा पूर्वराजाको भूमिकाबारे छानबिन गर्न तयार नभएपछि थापा पार्टीबाटै बाहिरिने निर्णयमा पुगेका हुन्।

उनले सोमबार आफू निकट नेता तथा कार्यकर्ताको भेला आयोजना गर्दै पार्टी छाड्ने निष्कर्ष सुनाएका थिए। थापाले हिन्दू राष्ट्रको एजेण्डा बोक्ने नयाँ पार्टी दर्ता गर्ने तयारी अघि बढाएका छन्।

यस्तो छ थापाले जारी गरेको विज्ञप्ति

माघ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्