रिक्त एक सचिवमा तीन सहसचिवको नाम सिफारिस

बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं– लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि एक जना सचिव पद रिक्त भएको थियो। उक्त रिक्त पदका लागि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो।

एक सचिव पदका लागि आयोगले तीनजना सिफारिस गर्नुपर्ने नियम छ। सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ।

बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव र एकजना विज्ञ सदस्य हुन्छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।

सिफारिस परेकामध्ये निरौला हाल गृह मन्त्रालयका सहसचिवका रुपमा कार्यरत छन्। सरकारले निरौलालाई सचिव पदमा बढुवा गरेमा उनको कार्यकाल पूरा अवधिको हुनेछ। सिफारिसमा परेका सिंह हाल सञ्चार तथा सूचना प्रविधि र खनाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्। सिंहको निवृत्ति २०८२ सालको जेठ १ गते र खनालको २०८२ साल फागुन २४ गते हुनेछ।

यसैगरी प्रशासनतर्फ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव यामकुमारी खतिवडाको निवृत्ति आगामी जेठ ९ गते हुनेछ। त्यसयता प्रशासनतर्फको सचिव पद रिक्त हुने छैन।

माघ २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्